धरान : धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन प्रथम धरान मलिहा अन्तर्राष्ट्रिय क्लब गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक डी-१९ क्लब र स्वर्णिम फुटबल क्लबले बिहिबार रंगशालामा पत्रकार सम्मेलन गरेर गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो । यो प्रतियोगिता शनिबार (कार्तिक २८) देखि मंसिर ६ गतेसम्म धरान १६ स्थित रंगशालामा आयोजना हुदैछ । रात्रीकालिन प्रतियोगिताको लागि आयोजकले रंगशालामा फ्लडलाइट जडान गरिसकेको पनि सचिव उमेश जिमिले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको प्रत्येक खेलहरु साँझ ६ बजे शुरु हुनेछ ।
प्रतियोगितामा नेपालका राष्ट्रिय महिला खेलाडीहरुले भरिएको विभागीय टोली नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी क्लबसँगै ८ टिम सहभागी हुने आयोजकका सहसचिव दिपक लिम्बूले जानकारी दिए । सहभागी हुने अन्य क्लबहरुमा बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, काकडभिट्टा फुटबल क्लब र आयोजकको तर्फबाट स्वर्णिम फुटबल क्लब रहेको छ । शनिबार उद्घाटन खेल भारतको आक्वा फुटबल क्लब र विभागीय टोली एपीएफबीच हुने पनि उनले बताए ।

प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद पाँच लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले इभि स्कुटर पाउदा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताको संयोजक सन्तोष राईले जानकारी दिएका छन् । उनका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ दिइनेछ ।
धरान रंगशालामा यसअघि रात्रीकालिन प्रतियोगिता एक पटक मात्र गोधुली कप आयोजना भएको थियो । चर्चित बुढासुब्बा गोल्डकप लगायत फुटबल प्रतियोगिताहरु हुदै आएपनि महिला क्लब फुटबल प्रतियोगिता भने धरानमा पहिलो पटक हुन लागेको हो । ‘खर्च पनि ठुलो छ, एक करोड माथी नै हुने देखिन्छ । तर पनि हामीले आँट गरेका छौं । यो महिला खेलाडीहरुलाई उत्प्रेरणा जगाउनको लागि हो,’ आयोजक क्लब स्वार्णिमका अध्यक्ष एवं वडा १० का अध्यक्षसमेत रहेका विवेक राईले भने,‘फ्लडलाइटमा पनि ठुलो खर्च छ । तर हामी यो राज्यलाई ब्याङ्ग्य गर्दै रात्रीकालिन खेलहरु गर्दैछौं । खेलकुदको सहर धरानमा फ्लडलाइटको व्यवस्था हुनुपर्छ भन्ने आवाज उठाउनलाई पनि हो ।’
उपाधी ट्रफी र इभी स्कुटरको चाबी हस्तान्तरण

गोल्डकपको लागि तयार पारिएको उपाधी ट्रफी बिहिबार आयोजित पत्रकार सम्मलनमा सार्वजनिक तथा हस्तान्तरण गरिएको थियो । गोल्डकपको उपाधी ट्रफी नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम इस्वो लिम्बूले आफ्ना दिवंगत आमा बुबाको स्मृतिमा आयोजकलाई प्रायोजन गरेका हुन् ।
दाता लिम्बू र श्रीमतिले उक्त ट्रफी सार्वजनिक गर्नुका साथै आयोजक टिमलाई हस्तान्तरण गरेका थिए । धरानको पहिचान झल्कने गरि ट्रफी तयार भएको पनि उनले बताए । सुनसरी खेलकुद विकास समितिका पुर्वअध्यक्षसमेत रहेका लिम्बूले धरानको खेलकुदको विकासमा महिला फुटबल महत्वपुर्ण हुने धारणा व्यक्त गरे । उनले आफ्नो कार्यकालमा धरान १६ स्थित रंगशाला र कवर्ड हलको जग्गा राखेपको स्वामित्वमा ल्याएको पनि स्मरण गरेका थिए ।

यसैगरि, सोही पत्रकार सम्मेलनमा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ईभी स्कुटरको चाबीसमेत दाता परिवारकोतर्फबाट हस्तान्तरण गरिएको थियो । उक्त स्कुटर धरान-१९ निवासी सम्झना खालिङले आफ्ना दिवंगत बुवाको स्मृतिमा सहयोग गरेकी हुन् । पत्रकार सम्मेलनमा उनका भाईले चाबी आयोजक टिमलाई हस्तान्तण गरेका थिए ।
_1704867435.jpeg)

प्रतिक्रिया दिनुहोस्