धरान: प्रहरीले धरान वडा नं २० स्थित च्यान डाँडाबाट दुई वटा स्कारर्पियो गाडी र ठुलो परिमाणको गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । 

सोमबार बिहान करिब ३ बजे गाँजा लोड हुदैछ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले २०९.४२ किलोग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानमा बा १० च ५०३८ नम्बरको स्कार्पियो र को १ च ८१८२ नम्बरको स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीलाई देख्नसाथ गाँजा बोकेर भाग्न खोज्दा पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेर पाँच जनालाई पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

पक्राउ पर्नेहरुमा बा १० च ५०३८ को गाडी चालक सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. १० का २४ बर्षीय रामसागर कुमार यादव र को १ च ८१८२ को गाडी चालक सप्तरीका छिन्नमस्ता गाउँपालिका वडा नं. ६ का ५९ बर्षीय राज कुमार साह रहेका छन् ।

यसैगरि, सप्तरीका राजगढ गाउँपालिका वडा नं. १ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, भारतको बिहार राज्यस्थित मधुबन्नी जिल्लाका ३८ बर्षीय सन्तोष ठाकुर र धरान उपमहानगरपालिका वडा नं.११ का २१ बर्षीय अमृत बिशुङ्खे रहेको पनि प्रहरीले जानकारी दिएको छ । गाँजा र स्कार्पियो गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान कार्य गरिरहेको पनि जनाएको छ ।