धरान: तपाई अविवाहित हुनुहुन्छ ? अविवाहित नै हो भने ससुरालीमा ज्वाँइले पाउने सत्कार र सम्मानको अनुभव पनि तपाईले गर्न पाउनु भएको छैन होला । तर, अब चिन्ता लिनु पर्दैन ।

धरान १० पुतलीलाइनस्थित विजयपुर हस्पिटल सामुन्ने डि–माण्डुले ज्वाँई खाना सञ्चालनमा ल्याउदैछ । त्यहाँ ज्वाँईले पाउने सत्कार र सम्मानका साथ ज्वाँई खानाका परिकार पाइन्छ । यसका सञ्चालक हुन, हरि श्रेष्ठ । करिब ५ बर्ष साउदी अरबमा ग्याँस र तेल कम्पनीका काम गरेर फर्किएका उनले डेढ बर्षदेखि डि काठमाण्डौं मःम चलाएर धरानमा बसेका थिए । डि काठमाण्डौंलाई नाम फेरेर डि माण्डु मःम नामकरण गरेका छन् भने यही फागुन १४ गतेदेखि ज्वाँई खाना पनि थप सञ्चालनमा ल्याउदैछन् ।

आज सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले नेपाली समाजमा ज्वाँईलाई दिइने अतिथि, सत्कार र सम्मान जस्तै ज्वाँई खानामा पनि दिइने बताए । यसको लागि कर्मचारीहरुलाई पनि बिशेष तालिम दिइने उनले बताए । ‘ग्राहकहरुको सेवा, सत्कार र सम्मानमा बिशेष ध्यान दिएका छौं,’उनले भने,‘नेपाली समाजमा ज्वाँईलाई जुन खालको सम्मान, सत्कार गर्ने सँस्कृति छ, हामीले यहाँ पनि त्यही अनुसार गछौं ।’

juwai-khana3

ज्वाँई खानामा मदिरा उपलब्ध नहुने र पारिवारीक वातावरण हुने उनले बताए । अविवाहितहरुले ससुरालीको अनुभव गर्न र ज्वाँईले पाउने सत्कार,सम्मान पाउन पनि यहाँ आउनुपर्ने उनले बताए । ‘ज्वाँई बन्न बाँकी हुनेहरुले पनि ससुरालीमा कस्तो सत्कार गर्छ भन्ने थाह पाउन यहाँ आउनुपर्छ,’उनले भने ।

ज्वाँई खानाको मेनुमा मित ज्वाँई खाना, भाञ्जी ज्वाँई खाना, बहिनी ज्वाँई खाना, छोरी ज्वाँई खाना, ज्वाँई राजा खाना गरी ५ वटा खानाको सेट रहेको छ । यस्तै, खाजामा ज्वाँई साहेब खाजा सेट पनि पाइने श्रेष्ठले बताए । ज्वाई खानामा पलेटी, लाउञ्ज र डाइनिङ गरी ३ वटा सेक्सन छ । पलेटीमा भुँईमा पलेटी बसेर खाना खाने सुविधा छ भने लाउञ्जमा सोफामा र डाइनिङमा बासको कुर्सीमा बसेर खान मिल्नेछ । उद्घाटनको अवसरमा १० दिन बिशेष छुट दिइने पनि श्रेष्ठले बताए ।

juwai4

ज्वाँई खाना करिब ३० लाख लागतमा सञ्चालनमा आउन लागेको हो । हाल ११ जना कर्मचारी रहेको छ । यहाँको बिशेषता भनेको प्याकेटका मसलाहरु प्रयोग नगरी परम्परागतरुपमा तयार गरिएको मसला प्रयोग गरिने हरिका दाजु युवराज श्रेष्ठले बताए । ‘प्याकेटको मसला प्रयोग गर्दैनौं, हाम्रो रेसिपी अनुसार काठमाण्डौंमा सिलौटामा पिसेको मसला तयार हुन्छ, र त्यो प्रयोग गछौं । यसले नेपाली खानाको परम्परागत स्वाद दिन्छ,’उनले भने,‘मासु कुकरमा हालेर पकाउदैनौं । मासु पकाउदा आउने ग्रेगी, रस प्रयोग गछौं । यसले परम्परागत स्वाद दिन्छ ।’

श्रेष्ठ दाजुहरु सिन्धुपाल्चोकमा जन्मिएका हुन् भने काठमाण्डौंमा पनि मःम व्यापारमा थिए । धरानका साथीहरुलाई भेट्न आउदा काठमाण्डौंमा आफुहरुले चलाएको मःमको स्वाद यहाँ नभेटे पछि नयाँ स्वाद हुने सोचेर डि काठमाण्डु मःम शुरु गरेको श्रेष्ठको भनाई छ ।

jiwai. juwai-khana1 juwai2