धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त तीन पदाधिकारी नियुक्तीको लागि छनौट तथा सिफारिश प्रक्रिया अघि बढेको छ ।
रास्वपा नेतृत्वको सरकारले गत बैशाखमा अध्यादेश ल्याएर चैत १२ अगाडि नियुक्त पदाधिकारीहरु हटाएसँगै वीपी प्रतिष्ठान पनि पदाधिकारीबिहिन बनेको थियो । सरकारले गएको असार अन्तिम साता प्रा.डा.स्मृति कार्कीलाई उपकुलपतिमा नियुक्त गरेपनि प्रतिष्ठानमा रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक पद रिक्त रहेको थियो ।
रिक्त रहेको तीन पदमा नियुक्तीको लागि पदाधिकारी छनौट तथा सिफारिश कार्यविधि २०८३ अनुसार साउन २५ गतेदेखि भदौ २ गतेसम्म विभिन्न व्यक्तिहरुले आवेदन दिएका छन् । पदाधिकारी छनौट तथा सिफारिश समितिले तीन पदमा आवेदन दिएकाहरुको नाम बुधबार सार्वजनिक गरेको छ । तीन पदाधिकारी छनौट तथा सिफारिश समितिको संयोजक प्रतिष्ठानको उपकुलपति हुने व्यवस्था छ । उपकुलपति संयोजक रहेको समितिले आवेदकहरुको अन्र्तवार्ता, कार्ययोजना प्रस्तुतीकरणको आधारमा कुलपति एवं स्वास्थ्यमन्त्रीसमक्ष तीन जनाको नाम सिफारिश गर्नेछ । तीमध्ये एक जनालाई स्वास्थ्यमन्त्रीले नियुक्ती गर्ने व्यवस्था छ ।
पदाधिकारी छनौट तथा सिफारिश समितिका अनुसार रेक्टर (शिक्षाध्यक्ष) पदमा ४ जनाले आवेदन दिएका छन् भने रजिष्ट्रार पदमा १८ जनाको आवेदन परेको छ । यस्तै, अस्पताल निर्देशक पदमा १४ जनाको आवेदन छ । कतिपयले शिक्षाध्यक्ष र रजिष्ट्रार दुवै पदमा आवेदन दिएका छन् भने कतिले रजिष्ट्रार र अस्पताल निर्देशक दुवै पदमा आवेदन दिएको समितिले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ ।
प्रतिष्ठानको उपकुलपति नियुक्ती भएपनि शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक निमित्त र कायममुकायमको भरमा चलेको छ । प्रतिष्ठानको एकेडेमिक डिन डा.अनुप घिमिरेले निमित्त शिक्षाध्यक्षकोरुपमा छन् भने डेपुटी रजिष्ट्रार सागर ताम्राकार कायममुकायम रजिष्ट्रार छन् । यस्तै, निमित्त अस्पताल निर्देशककोरुपमा डा.इन्द्र लिम्बू रहेका छन् । उनी यसअघि निमित्त उपकुलपति पनि रहेका थिए।








