धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् ।

मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन् । जिपलाइन प्राजेक्टले विकास रर समृद्धि हाम्रै पालामा सम्भव छ भन्ने अनुभूति दिलाएको पनि मुख्यमन्त्री राईले बताए । उनका अनुसार भेडेटारमा छिट्टै स्काई वाक प्रोजेक्ट पनि थपिनेछ भने प्रदेश सरकारले केवलकार प्रोजेक्टलाई पनि अघिबढाउने छ । ‘हामी थुप्रै पुर्वाधार तयार गरेर लाखौं पर्यटकहरुलाई आकर्षित गर्न चाहन्छौ, यो पहिलो प्रोडक्ट हो । अब छिट्टै स्काई वाक टावर बन्दैछ, केवलकारको प्रोजेक्ट पनि अघि बढ्दैछन्,’उनले भने ।

भेडेटारको चाल्र्स पोइन्टमा स्काई वाक निर्माण गर्न एक निजी कम्पनीले प्रदेश सरकारलाई प्रस्ताव पेश गरिसकेको छ । उक्त कम्पनीले प्रदेश सरकारबाट स्वीकृति लिएर सम्भाव्यता अध्ययन पनि गरिसकेको छ भने ३० करोड बढी लगानीमा स्काई वाक निर्माणको प्रस्ताव सरकारलाई बुझाइसकेको अवस्थामा मुख्यमन्त्री राईले यो अभिव्यक्ति दिएका हुन् । यसले प्रदेश सरकार भेडेटारमा स्काई वाक निर्माणमा सकरात्मक भएको र चाडै निर्माण हुने संकेत मिलेको छ ।

 मुख्यमन्त्री राईले पर्यटकीय पुर्वाधारहरु तयार गरे लाखौं पर्यटकहरुलाई प्रदेशमा आकर्षित गर्ने योजना रहेको पनि बताए । विकास र समृद्धिको लागि निजी क्षेत्रलाई लगानीको लागि उपयुक्त वातावरण तयार गरेर राष्ट्र निर्माणको अभियान शुरु भइसकेको मुख्यमन्त्री राईको भनाई थियो । ‘जिपलाइन पर्यटन क्षेत्रको विकासमा, पर्यटन क्षेत्रको प्रर्वद्धनमा महत्वपुर्ण पुर्वाधार हो । पहिलो पटक र पहिलो पुर्वाधारकोरुपमा यस प्रदेशले प्राप्त गरेको छ, लगानीकर्तालाई धन्यवाद गर्न चाहन्छु,’ उनले भने,‘विकास सम्भव छ, समृद्धि सम्भव छ भन्ने कुराको तथ्य यो जिपलाइन प्रोडक्टले सबैलाई प्रत्यक्षरुपमा अनुभूति दिलाएको छ, किनभने हाम्रै हातबाट र हाम्रै पालामा हामीबाट सम्भव भएको छ ।’

_FUR3751-(1)

शनिबारदेखि व्यवसायिक शुरुवात भएको देवीथान भेडेटार जिपलाइनको अवलोकन गर्दै मुख्यमन्त्री शेरधन राई ।
फोटो: विकास चाम्लिङ राई

धरानको वडा नं ४ विकट भए पनि प्राकृतिक दृष्टिले असाध्यै उपयुक्त ठाउँ भएको र पर्यटकीय हिसाबले आकर्षक गन्तव्य बनाउने पनि उनले बताए । विकट र विकासको पहुँचबाट टाढा भएका ठाउँहरुको मास्टर प्लान बनाएर योजनावद्धरुपमा विकास गर्ने पनि उनले बताए । ‘यो वडा विकट छ । बाटो घाटोको पहुँच कमजोर छ तर विकास र समृद्धिमा केन्द्रीत भएर हामी समग्र विकास गछौं,’उनले भने,‘पर्यटकीय हिसाबले यी ठाउँलाई सुन्दर, आकर्षक गन्तव्य बनाउने हिसाबले योजनाका साथ लागिरहेका छौं । यी ठाउँको विकासको निम्ति, पर्यटन क्षेत्रको विकासको निम्ति योजनावद्ध विकास गर्न सबैसँग हातेमालो गर्दै सहकार्य गरेर यसठाउँहरुलाई राम्रो मास्टर प्लान गरेर अगाडि बढाउनेछौं ।’