धरान: आज तेस्रो नेपाल च्याम्पियन खुला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता हुदैछ । धरान ८ स्थित सभागृहमा हुने प्रतियोगितामा कुल ५६ जना खेलाडीहरु सहभागी हुदैछन् ।

ती ५६ जना खेलाडीहरु मध्ये एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पनि छन् । उनी फरेन्सिक विभागका डाक्टर विकास साह हुन् । उनी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक पनि छन् । डा.साह यसअघि पनि २ पटक धरानमा मिस्टर धरानमा भिडिसकेका छन् । यस्तै, गृहजिल्ला बाराबाट राष्ट्रिय छनौट प्रतियोगितामा जिल्ला प्रथम भएर हेटौटामा आयोजित क्षेत्रीय छनौटमा पनि उनी सहभागी भएका थिए । एसएलसी परीक्षा पछि निरन्तर जिम गर्ने डा.साह स्वास्थ्यको लागि जिम हल जाने गरेको बताउँछन् । ‘म स्वास्थ्यको लागि जिम गर्छु । मानिसलाई तनावले सुगर, प्रेसर बढाउछ,’उनले भने,‘त्यसलाई कन्ट्रोल गर्न पनि म जिम गर्छु ।’

body

डा.साह प्रतियोगितामा ७० केजी तौल समुहमा भिड्दैछन् । आयोजक एलाइनेटका अध्यक्ष बिक्रम लिम्बुले वीपीका डाक्टर प्रतियोगितामा भिड्नु आफुहरुको लागि खुशीको खबर भएको प्रतिक्रिया दिए । ‘डाक्टर साब पनि प्रतियोगितामा सहभागी हुने कुराले एकदमै खुशी छौं, यसले युवाहरुलाई थप प्रेरणा मिल्छ,’उनले भने । प्रतियोगितामा ५५ केजी, ६० केजी, ५५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुन बुटवल, भैरवहा, दाङ, मोरङ, झापा र सुनसरीबाट मात्र होइन, हङकङ र दुबईबाट पनि विदा मिलाएर युवाहरु धरान आएका छन् ।

प्रत्येक तौल समुहका विजेता अर्थात प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउण्डमा भिड्ने मौका पाउनेछन् । ती मध्ये प्रथम हुने खेलाडीले तेस्रो नेपाल च्याम्पियनको उपाधिसँगै नगद २ लाख ५० हजार पाउनेछन् भने दोस्रो हुनेले नगद १ लाख, तेस्रो हुनेले नगद ५० हजार हात पार्नेछन् । यस्तै, चौथो हुनेले ४० हजार, पाँचौं हुनेले ३० हजार र छैटौं हुने खेलाडीले नगद २५ हजार हात पार्नेछ । व्यक्तिगततर्फ वेष्ट पोजर, वेष्ट मस्कुलर मेन, मोष्ट इम्प्रुभ घोषित खेलाडीले जनही नगद ५ हजार हात पार्नेछ ।