काठमाडौं: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक सातासम्मको लागि दुवै छिमेकी देशको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय सोमबार विहान १० बजेबाट लागु हुने बताइएको छ । चीनबाट कोरोना शुरु भएको थियो भने अर्को छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण देखिएको छ । भारतमा कोरोनाले केहीको ज्यान समेत गइसकेको छ । संघीय सरकारले निर्णय गर्नुअघि नै १ नम्बर प्रदेशले प्रमुख ५ नाकाबाहेक सबै नाका बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले कोरोना संक्रमणविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय भएको छ भने कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको छ ।