धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम कम गर्न थप १३ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानले आजदेखि १३ वटा हेल्पलाइन नम्बर थपेपछि कुल १५ वटा भएको छ । यसअघि नै प्रतिष्ठानले २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याइसकेको थियो । अस्पतालमा धेरै भिडभाड नहोस् भनेर प्रतिष्ठानले सर्वसाधारणहरुलाई घरबाटै स्वास्थ्य परामर्श लिन सहज होस् भनेर यस्तो व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ‘ओपिडीको विकल्पमा हेल्पलाइन ल्याएका हौं, यसलाई फोन ओपिडी भन्दा नि हुन्छ,’डा.ऐरले भने,‘फोनमा सम्बन्धित विभागका डाक्टरसँग कुरा गर्ने, सल्लाह लिने । त्यसरी पनि नभए डाक्टरसँग सल्लाह गरेर मात्र अस्पताल आउने ।’

प्रतिष्ठानका अनुसार १३ वटा हेल्पलाइन सेवा विभिन्न विभागलाई दिइएको छ । अस्पताल आउनुपूर्व सम्बन्धित विभागको हेल्पलाइनमा सम्पर्क गरेर मात्र आउन अस्पताल सहायक निर्देशक डा.विकास साहले बताए । ‘अहिलेको अवस्थामा घरमा नै बस्नु राम्रो हो, कसैलाई समस्या भयो भने हेल्पलाईन नम्बरमा फोन गरेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर मात्र आउनुहोला,’डा.साहले भने । help-line