धरान: अस्पतालमा पनि संक्रमणको बढी जोखिम हुने भएकोले सर्वसाधारणहरुलाई घरमा नै स्वास्थ्य सल्लाह दिनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानले आज दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । अब स्वास्थ्यमा कुनै समस्या भए सर्वसाधारणहरुले त्यही हेल्पलाइनमा फोन गरेर बिशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श लिन सक्नेछन् । प्रतिष्ठानका अनुसार हटलाइन नम्बर ९८०२७९५२५२ र ९८०२७९५३४९ रहेको छ ।

उक्त हेल्पलाइन नम्बर हरेक दिन पालैपिलो २ जना बिशेषज्ञ चिकित्सकसँग हुनेछ । ‘अस्पतालमा हरेक किसिमका विरामीहरु आएका हुन्छन्, त्यसैले झन् संक्रमणको जोखिम बढी हुन्छ,’प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले भने,‘केही समस्या भए घरबाट नै स्वास्थ्य सेवा, सल्लाह लिन सकोस्, र संक्रमणको जोखिम कम होस् भनेर यो सेवा ल्याइएको हो ।’

डा.साहले सकेसम्म अस्पतालमा नआउन पनि आम मानिसहरुलाई आह्वान गरेका छन् । चिकित्सकसँग हेल्पलाइन नम्बरमा परामर्श लिने र उनको सुझाव अनुसार आउनै परेमात्र अस्पताल आउन डा.साहले सुझाव दिए । ‘हेल्पलाइनबाट नै डाक्टरले के समस्या हो, र त्यसको लागि कुन औषधी खाने भनेर सुझाव दिइहाल्नु हुन्छ । आउनै पर्ने भयो भने मात्र आउनु होला,’उनले भने,‘अस्पताल आउनै पर्ने भयो भने पनि १ मिटर टाढा बनाएर बस्ने वा उभिने गर्नुपर्छ ।’