धरान: धरान उपमहागनरपालिकाले वडाहरुबाट संकलन भएको लगत अनुसारको सबै परिवारलाई दुई दिनभित्र राहत वितरण गर्ने निर्णय गरेको छ ।

आज बिहान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकले यस्तो निर्णय गरेको हो । मेयर राईका अनुसार सबै वडाहरुबाट संकलन भएको नामावलीबारे छलफल भएको थियो । उक्छ छलफलले नै वडाहरुबाट आएको लगतअनुसार सबैलाई राहत पठाउने निर्णय भएको मेयर राईले बताए । ‘पर्सिको दिनसम्म सबै वडाबाट आएको लगतअनुसार राहत पठाउने निर्णय भयो,’मेयर राईले भने,‘हामी तयारीमा लागेका छौं ।’

वडाहरबाट लगत संकलन भएका मध्ये हिजो शनिबार ३ हजार ४ सय परिवारलाई पहिलो चरणमा राहत प्याकेज तयार गरी उपमहानगरपालिकाले वडाहरुमा पठाएको थियो । कतिपय वडाहरुले आफैले पनि यसअघि नै राहत वितरण गरिसकेका छन् । पहिलो चरणमा कसैलाई पनि नदोहोरिने गरी उपमहानगरले राहत वितरण शुरु गरेको हो । लकडाउन २५ गतेसम्म भएकोले पहिलो चरणको राहत यो समयभित्रै वितरण गर्ने र त्यसपछि पुनः लकडाउन थपिए पछि निर्णय गर्ने उपमहानगरले जनाएको छ ।

अतिविपन्न परिवारको लगत पौने ९ हजार

धरान उपमहानगरपालिकामा पौने ९ हजार अतिविपन्न घरपरिवारको लगत संकलन भएको छ । धरानको २० वटै वडा कार्यालयहरुले पठाएको अतिविपन्नको लगतलाई जोड्दा यो संख्या पुगेको हो ।  उपमहागनरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार कुल ८ हजार ७ सय ७९ परिवारको लगत वडाहरुबाट संकलन भएर आएको छ । ‘सबै वडाले पठाएको लगतलाई जोड्दा ८७७९ परिवार निस्कियो,’खतिवडाले भने ।