धरानः चर्चित ललिता निवास जग्गा प्रकरण उजागर गर्ने अधिवक्ता युवराज कोइरालाको आज जन्मदिन । उनले आफ्नो जन्मदिन मनाउदै गर्दा हत्याको षडयन्त्र भइरहेको खुलासा पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले ‘ललिता निवास प्रकरण उजागर गरेको कारण भुमाफियाको हत्याको निसानबाट बाँचिएको कारण जन्मदिन भन्न पाइयो’ भनेर लेखेका छन् । उनले 'हत्याको षडयन्त्र भैरहेछ, तर आफ्नो बाँच्ने रहर भएको' पनि उल्लेख गरेका छन् । कोइराला तिनै व्यक्ति हुन्, जसले ललिता निवास प्रकरणको नालीबेली गृहमन्त्री र प्रधानमन्त्रीसमक्ष पुर्याएका थिए । लहरो तान्दा पहरो गर्जन्छ भन्ने नेपाली उखान झैं नक्कली मोही खडा गरेर बालुवाटार जग्गा हडपेको प्रकरणमा नेकपा, कांग्रेसका शीर्ष नेताहरु पनि मुछिए ।

yubraj-lalita

ललिता निवास, वालुवाटार जग्गा प्रकरण उजागर भएपछि सरकारले देशभरको सरकारी, गुठी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको खोजी गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिमा पनि कोइराला कानुनी सल्लाहकारकोरुपमा सरकारले राख्यो । उक्त समितिमा रहदा कोइराला धरानको सर्दु जलाधार क्षेत्र अतिक्रमणको बिषयमा अध्ययन गर्न धरान, बेलबारी, विराटनगर, इनरुवालगायत क्षेत्रमा थुप्रै दिन आएका थिए । उनले प्रमाणहरुको अध्ययन गरी दिएको सुझावकै आधारमा समितिले प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद बैठकले मुआब्जा दिइसकको जग्गाहरुको प्रमाण पुगेअनुसार लगतकट्टा गरी सरकारीकरण गर्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन ।

कोइरालाले मोवाइल सम्पर्कमा क्लिक धरानसँग कुरा गर्दै भुमाफियासँगै थुप्रै क्षेत्रबाट आफु असुरक्षित भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘माफियाहरुको रुवाबासी छ, त्यसैले म उनीहरुको तारो बनेको छुँ,’उनले भने,‘गम्भीररुपमा लागेका छन् ।’ उनले मन्त्रिपरिषदको निर्णय पनि कार्यान्वयन गराउन नदिन भुमाफियाहरु मालपोत कार्यालयहरुमा सक्रिय नै रहेको बताए । ‘सबै जना मिलेर दबाब दिनुपर्छ, नत्र क्याबिनेट निर्णय पनि कार्यान्वयन हुन दिदैनन्,’उनले भने ।

yub