मुम्बई: बुधबार मात्रै प्रतिभाशाली कलाकार इरफान खानलाई ५३ बर्षको उमेरमा गुमाएको बलिउडले दिग्गज अभिनेता ऋषि कपुरलाई गुमाएको छ ।

अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहिबार निधन भएको हिन्दुस्तान टाइम्सले खबर छापेको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको खबरअभिनेता अमिताभ बच्चनले पनि पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए..! ऋषि कपूर .. गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु !’

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।