धरान: नेपालमा थप २ जना कोरोना सक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले काभ्रे र महोत्तरीमा २ जनामा संक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार काभ्रेमा २६ बर्षका पुरुष र महोत्तरीमा ५२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरि, धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीबारे भने मन्त्रालयले परीक्षणहरु भइरहेको जनाएको छ । प्रवक्ता डा.देवकोटाले शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएर डिस्चार्ज भएकी महिलालाई ज्वरो र श्वासप्रश्वास समस्या भएपछि धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनले ती महिलाको मृत्यु के कारणले भएको भन्ने खुलाएनन् । ‘यस सम्बन्धमा विस्तृत विवरणहरु लिइरहेका छौं, र कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्, त्यसैले यो परीक्षणको र सम्पुर्ण विवरणहरु आइसकेपछि मात्र कोडिभ १९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने आधिकारिक जानकारी गराउनेछौं,’उनले भने । ती महिलाको धुलिखेल अस्पतालमा भएको पिसिआर परीक्षण भने पोजेटिभ आएको छ ।