धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले आज बिहान बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवा कोरोना संक्रमणबाट भएको पुष्टि गरे । उनले ती युवाको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको र कोभिडबाट मृत्यु हुनेको संख्या नेपालमा दुई पुगेको बताए ।

ती युवा बैशाख ३० गते भारतबाट आएको डा.देवकोटाले बताए । उनका अनुसार गए राती स्वास्थ्यमा समस्या देखिएको र ज्वरो, झाडापखाला लगायत भएको थियो । उनको बिहान ६ बजेर ४० मिनेटमा क्वारेन्टाइनस्थलमा नै निधन भएको डा.देवकोटाले बताए ।