धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनस्थलमा आज एक सुरक्षाकर्मीसहित १६ जनाको स्वाब नमुना संकलन गरिएको छ ।
संकलन गरिएकामध्ये ३ जनाको दोस्रो पटक पिसिआर परीक्षणको लागि स्वाबको नमुना लिइएको हो । उनीहरु हिजो कोरोना संक्रमण पुष्टि भएका युवासँगै एउटै कोठामा बसेका थिए । तीन जनाको रिपोर्ट नेगेटिभ आएपनि संक्रमितसँगै क्लोज कन्ट्याकमा रहेको कारण पुनः परीक्षणको लागि स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले बताए । यस्तै, अन्य १२ जना हिजो र आज क्वारेन्टाइनमा आएकाहरुको स्वाबको नमुना लिइएको हो ।
यस्तै, क्वारेन्टाइनस्थलमा सुरक्षा नेतृत्व गरेको नेपाली सेनाको क्याप्टेनको पनि स्वाबको नमुना लिइएको हो । पहिलो चरणमा ४५ जनाको पिसिआर परीक्षण भएको थियो । उनीहरुमध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने ४४ जनाको नेगेटिभ आएको थियो । ती मध्ये संक्रमितसँगै एउटै कोठामा बसेका तीन जनालाई दोस्रो पटक परीक्षण गर्न राखेर अन्य ४१ जनालाई घर पठाइएको पनि महाशाखा प्रमुख मेहताले जानकारी दिए ।







