धरान: आजदेखि निजी सवारीसाधन जोर विजोर प्रणाली लागु भएको छ ।

यो प्रणाली दुई पांग्रे मोटरसाइकल, स्कुटरदेखि चार पांग्रे निजी सवारीसाधनमा पनि लागु हुनेछ । धरानस्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी प्रमुख अश्विन कोइरालाका अनुसार जोर गते अन्तिम नम्बर जोर भएको सवारी र विजोर गते अन्तिम नम्बर विजोर भएको निजी सवारी मात्र जिल्लाभित्र चल्न पाउनेछ । जिल्लाबाहिर जानलाई भने पास चाहिने उनले बताए । ‘आजसम्म निजी सवारीधनीलाई सम्झाएका छौं, भोलीदेखि अटेर गर्नेलाई कडाई गछौं,’जिल्ला ट्राफिक प्रमुख कोइरालाले भने ।

ट्राफिक प्रमुख कोइरालाका अनुसार विजोर गते १, ३, ५, ७, ९ को दिन निजी सवारीको नम्बरको अन्तिम अंक पनि विजोर १, ३, ५, ७, ९ भएकोले मात्र चल्न पाउनेछ । यस्तै, जोर गते २, ४, ६, ८ गतेको दिन सवारीको अन्तिम नम्बर पनि २, ४, ६, ८ र ० भएकोले मात्र चल्न पाउनेछ । सरकारले लकडाउनलाई असार १ गतेदेखि केही खुकुलो बनाउदै जिल्लाभित्र निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो । तर, मोटरसाइकलमा १ जना मात्र सवारी गर्न पाइनेछ भने चार पांग्रेमा २ जना मात्र दुरी कायम गरेर जिल्लाभित्र सवारी गर्न पाइनेछ ।

यस्तै, निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक डिस्इन्फेक्ट गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।