धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ ।

बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । नगरसभा १ बजे वीपी प्रतिष्ठानको अडोटरियम हलमा हुने भनिएको छ । ‘सातौं नगरसभाको लागि बजेट, नीति तथा कार्यक्रम पास भएको छ, स्रोत अनुमान समितिले पेश गरेको सुत्रमा आधारित बजेट पास भएको छ,’उनले भने,‘सबै कार्यपालिका सदस्यहरुबाट बहस,छलफल भएर पास भएको छ ।’

नगरसभा शुरु भएपछि बजेट सिलिङ वडामा पठाएपछि वडामा योजना छनौट शुरु हुने उनले बताए । साथै उनले १ अर्ब ७२ करोडको बजेट रहेको पनि बताए । वडा नं २ का माधवगोविन्द श्रेष्ठले नेकपाकै कतिपय वडाअध्यक्षहरुले ठुला वडामा बजेट पनि धेरै जाने, नगर गौरवको आयोजना पनि त्यही जाने तर आफुहरुले पहिलादेखि नै उठाइरहेको बिषय किन सम्बोधन भएन भन्ने गुनासो रहेको बताए । ती अध्यक्षहरुको गुनासोलाई मेयरले सम्बोधन गर्ने प्रतिवद्धता जनाए पछि बैठक सौहार्दपुर्णरुपमा सम्पन्न भएको उनले बताए ।