धरान: धरान उपमहानगरपालिकाले वृहत पर्यटन गुरुयोजना निर्माण गरेर पूर्वाधार विस्तार तथा पर्यटन विकासका कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।

सातौं नगरसभामा बुधबार प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगरले उद्योग तथा पर्यटनतर्फ यस्तो नीति लिएको हो । “अतिथिमैत्री, धराने संस्कृति”को भावना जागृत गराउने पनि उपमहानगरले आवश्यक नीति लिने जनाएको छ । यसको लागि पर्यटक ल्याउने, घुमाउने, धेरै समयसम्म राख्ने, मिठो खुवाउने, असल व्यवहार गर्ने, उचित परामर्श दिने, पर्यटक सवारी साधनको व्यवस्थापन गर्ने, गाईड व्यवस्थापन गर्ने नीतिलाई पनि सरोकारवालासँग सहकार्य गरेर कार्यान्वयन गर्ने उल्लेख छ ।

यस्तै, धरान बहु साँस्कृतिक शहर भएकोले यहाँको विभिन्न जातजाति र पर्यटन व्यवसायीहरुसँग समन्वय गरेर साप्ताहिकरुपमा बहु साँस्कृतिक नृत्य सशुल्क प्रर्दशनीको व्यवस्था मिलाउने पनि उपमहागनरले जनाएको छ । धरानका पर्यटन व्यवसायीहरुले धेरै अघिदेखि यो अवधारणा अघि सारेपनि मुर्तरुप लिन सकेको थिएन । विभिन्न जातजातिहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचानबारे जानकारी दिने उद्देश्यले पर्यटकहरुलाई होमस्टेमा राख्नका लागि होम स्टे सञ्चालनका लागि ग्रामीण क्षेत्रमा उपमहानगरपालिकाले विशेष अनुदानको व्यवस्था पनि गर्ने उपमहानगरले जनाएको छ ।

धरानको विजयपुर क्षेत्रमा निमार्ण हुने घरहरुको अघिल्लो मोहडा कलात्मक बनाउन वा घरहरुलाई एकै रंगबाट रोगन गर्न साझेदारी कार्यक्रम लागु गर्ने पनि उपमहानगरले जनाएको छ । यसैगरि, आदिबासी जनजातिहरुको पुस्तैनी कला र सँस्कृतिकोरुपमा हस्तान्तरण हुदै आएको तीनपाने रक्सीलाई ब्राण्डिङ गर्ने पनि जनाएको छ । तीनपाने रक्सीलाई पहिचान र प्रर्वद्धन गर्न आवश्यक नीति निर्माण गरेर व्यवसायीकरण गर्ने कार्यक्रम लागु गर्ने उल्लेख छ । सरोकारवाला पक्षहरुसँग समन्वय गरेर प्रशोधन र ब्राण्डिङ गर्ने व्यवस्था पनि गरिने नीति कार्यक्रममा उल्लेख छ ।

धरानमा सुरक्षा व्यवस्थापनको साथमा सुनसरी उद्योग वाणिज्य संघको सहकार्यमा रात्रीकालिन बजारको शुरुवात गर्ने घोषणा पनि उपमहानगरले गरेको छ । धरान क्षेत्र भित्र साहसिक पर्यटन, साईक्लिङ्, पदमार्ग, होमस्टे, होटल व्यवसाय साथै ऐतिहासिक र महत्वपूर्ण सम्पदाहरको संरक्षण र संवद्र्धन गर्ने नीति लिने पनि उपमहानगरले जनाएको छ । धरान क्षेत्रको मन्दिरहरु पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, बिजयपुरगढी, पन्चकन्या, सुलिकोट, सिद्धपोखरी, विष्णुपादुका साथै बराहक्षेत्र, चतराधाम, रामधुनीक्षेत्रलाई समावेश गरी धार्मिक कोरिडोरको रुपमा स्थापित गराउन सम्बन्धित स्थानिय सरकार, प्रदेश सरकारसँग समन्वय गर्ने पनि उल्लेख छ । साथै, पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।