धरान: धरान उपमहानगरपालिकाले बुधबार सातौं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालयलाई उत्कृष्ट शिक्षा पुरस्कार र शिक्षकलाई पनि उत्प्रेरित गर्न पुरस्कारको व्यवस्था गर्ने, गरिने उल्लेख छ ।

शिक्षा नीतितर्फ आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रत्येक बर्ष धरान उत्कृष्ट शिक्षा पुरस्कार प्रदान गरिनेछ । शिक्षकहरुलाई उत्प्रेरित गर्न सम्मान तथा पुरस्कारको पनि व्यवस्था गर्ने उल्लेख छ । यस्तै, संस्थागत विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई श्रम ऐनमा व्यवस्था भए बमोजिम न्युनतम पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ । यसैगरि सबै सामुदायिक विद्यालयमा बालमैत्री, अपांग मैत्री र छात्रछात्राहरुको लागि छुट्टै शौचालय, शुद्ध पिउने पानी, उचित पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाको पनि व्यवस्था गरिनेछ ।

यसैगरि, धरानको गहनाको रुपमा रहेका विशेष विषयहरु अध्ययन हुने पूर्वाञ्चल ईन्जिनियरींग क्याम्पस, खाद्य प्रविधि क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार, संघिय सरकार र सम्बन्धित सरोकार पक्षसँग समन्वय र साझेदारी गर्ने पनि उल्लेख छ । ‘आवधिक नगर शिक्षा योजना बनाई धरान नगरलाई शिक्षाको केन्द्रको रुपमा विकसित र स्थापित गरिनेछ,’शिक्षा नीतिमा भनिएको छ,‘धरान एक बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक शहर भएकाले यो पक्षकोसंरक्षण र संबद्र्धन गर्न आधारभूत तहदेखि नै एक छुट्टै स्थानीय पाठ्यक्रम तयार गरी आगामी शैक्षिक वर्षदेखि आवश्यकता अनुसार विद्यालयहरुमा लागु गरिनेछ ।’

वहुभाषिक शिक्षा सञ्चालनका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरी बहुभाषिक शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने, विद्यार्थीहरुको बहुआयामिक प्रतिभाको विकास गर्न विद्यालयमा अतिरिक्त क्रियाकलापहरुको छनौट र कार्यान्वयन अनिवार्य गर्ने, सबै विद्यालयहरुमा आवधिक रुपमा विद्यार्थीको नियमित स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने पनि उल्लेख छ । यस्तै, सामुदायिक विद्यालयका छात्राहरुका लागि सेनिटरी प्याड वितरणको कार्यक्रमलाई व्यवस्थित गर्ने, सामुदायिक तथा संस्थागत विद्यालयहरुका बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा नेतृत्व क्षमता विकासका लागि अनिवार्य रुपमा बाल क्लबहरु निर्माणगरी परिचालन गर्ने उपमहानगरको नीतिमा समावेश छ ।