धरान: धरान खानेपानी आयोजना सफल कि असफल ? म्याद समाप्त भइसकेको आयोजनाबारे बहस जारी छ ।

धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि खानेपानी संस्थान र आयोजना दुवैलाई मर्ज गरेर खानेपानी व्यवस्थापन बोर्डले पानी व्यवस्थापन गर्ने प्रस्ताव सातौं नगरसभामा पेश गरिसकेको छ । तर, नगरसभामा यो प्रस्ताव पेश हुनु अघि नै मेयर तिलक राईले एक विज्ञ समिति बनाएर आवश्यक अध्ययन तथा छानबिन गर्ने निर्णय गरेका थिए ।

मेयर राईले आयोजनाप्रति नगरबासीमा थुप्रै आशंका भएको र त्यसलाई हटाउनको लागि विज्ञ समिति गठन गरेको बताए । उनले आयोजनाप्रति आफैलाई पनि आशंका भएको बताए । ‘नगरबासीमा थुप्रै आशंका छन् । म मेयर भइसके, तर मलाई पनि आशंका छ । किनभने मलाई प्राविधिक कुरा थाह छैन । मलाई पनि आशंका छ, त्यसैले आशंकालाई दुर गर्नको लागि विज्ञ समुह बनाउने भन्ने निर्णय गरेको छ,’मेयर राईले क्लिक धरानसँग भने,‘एक दुई दिनमा नै समिति बन्दैछ ।’

मेयर राईका अनुसार नेपाल सरकारका पुर्वसचिवहरु भएको ५ देखि ६ जनाको विज्ञ समिति गठन हुनेछ । उक्त समितिले स्थलगतरुपमा आएर खानेपानी आयोजनामा भएका समस्याहरु, राम्रो पक्षहरु केलाउनेछ भने नीतिगत भ्रष्टचार र प्रविधिकरुपमा कमीकमजोरी भएको भए कारबाहीको सिफारिश पनि गर्नेछ । साथै, विज्ञहरुले आयोजना कसरी सञ्चालन गर्ने र यसको आवश्यकता के हो ? भनेर पनि सुझाव दिने मेयर राईले बताए । ‘यो आयोजना नै खानेपानी संस्थानसमेत बोर्डमा मिसिएर गर्ने भन्ने छ । सरकारले निर्णय गरेको छ, नगरप्रमुखको हैसियतले मैले हुदैन भन्न सक्दिन,’उनले भने,‘यो आयोजना असफल भयो कि भन्ने नगरबासीमा आशंका छ, त्यो आशंकालाई दुर गर्नुपर्छ । परीक्षण गर्नुपर्छ, त्यो गछौं र आयोजना अघि बढाउनुपर्छ ।’

Tilak-Rai

मेयर राईका अनुसार विज्ञ समितिले आयोजनाको डिपिआर नै सही बन्यो कि बनेन भनेर शुरुवातदेखि नै अध्ययन गर्नेछ । डिपिआर अनुसारको उत्पादन, भौतिक संरचना र वितरण प्रणाली ठिक छ कि छैन ? नीतिगत निर्णयहरु सही छ कि छैन ? अब कसरी सञ्चालन गर्ने भन्ने सम्मको विज्ञ समितिलाई टिओअर दिने मेयर राईले बताए । ‘भुमीगत पानीको स्रोतको दीर्घकालिन अवस्था के छ ? पछिल्लो चरणमा २ वटा डिप बोरिङ खनिएको छ, त्यसमा म संलग्न छैन । अघिल्लो नेतृत्वहरु संलग्न छ, त्यसको स्थिति के छ ? सतहको पानीको समस्या के छ ? त्यसलाई संरक्षण गर्न के गर्ने ? सबैको सुझाव दिने गरि विज्ञ समिति बन्छ । आग्रह पुर्वाग्रह नरही के हो स्थिति यथार्थ दिनुपर्यो भनेको छु,’मेयर राईले भने ।

मेयर राईले आयोजना र संस्थानले उत्पादन गरेको पानी जनताले पाउनुपर्ने पनि बताए । लडाई, झगडा र दाउपोज एकातिर भएपनि पानी पिउन पाउनुपर्ने जनताको अधिकार भएको उनलेब ताए । ‘हाम्रो लडाई झगडा, दाउपेजको कुरा अर्को कुरा हो तर आयोजना र संस्थानले उत्पादन गरेको पानी जनताको घरदैलोमा पुग्नुपर्छ, त्यो पुर्याउने काम मेरो भो,’मेयर राईले भने ।