धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ ।

अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न झमेलामा फस्यो । एसियाली विकास बैंक(एडिबि) प्रमुख दाता भएको यो आयोजनाको म्याद पनि सकिसकेको छ । तर, नगरबासी अझै काकाकुल अवस्थामा नै छन् । अधिकांश धरानबासीको घरमा खानेपानी संस्थानको धारा छ । अहिले असार महिना चलिरहेको छ । निरन्तर बर्षात भइरहेकोले पानीको अभाव पक्कै नहुनुपर्ने हो । तर, उपभोक्ताको घरमा पानी आउदैछ । आइहाल्यो भने पनि धमिलो, पिउनै नसकिने पानी आउछ । आखिर के भइरहेको छ ? यही बुझ्न संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठलाई भेट्यौं ।

water-project-boring

निमित्त प्रमुख श्रेष्ठका अनुसार बर्षातमा धरानको खानेपानीको प्रमुख स्रोत सर्दु र खर्दु नै हुन् । तर, बर्षात अत्यधिक हुँदा लेदो पानी आउने भएकोले समस्या हुने गरेको उनले बताए । बर्षात धेरै हुँदा लेदो पानी इन्टेकमा आउन नदिन मुहान काट्नुपर्छ । जसले गर्दा २४ घण्टामा १०, १२ घण्टा मात्र सुद्ध पानी इन्टेक हुने भएकोले बर्षातमा पनि अहिले पर्याप्त पानी वितरण गर्न संस्थानले नसकेको उनले बताए ।

rak-ku-sth

यस्तै, संस्थानको इन्टेक भएको ठाउँमा फ्लकुलेटर र सेडिमेन्टेसन विधिले मात्र संस्थानले पानी सुद्धिकरण गर्ने गरेको थियो । यो विधिले मात्र पानी सुद्ध हुदैनथ्यो । त्यसैले हिजोदेखि धरान १३ फुस्रेमा खानेपानी आयोजनाले निर्माण गरेको र्यापिड स्याण्ड फिल्टर पनि सञ्चालन गरिएको छ । अब संस्थानको सर्दु र खर्दु स्रोतको पानी फिल्टर गरेपछि सुद्ध एवं स्वच्छ भएर मात्र उपभोक्ताको घरमा पुग्ने उनले बताए ।

के भन्छन्, आयोजना प्रमुख राजु पोख्रेल ?

धरान खानेपानी आयोजना प्रमुख एवं ईञ्जिनियर राजु पोख्रेलका अनुसार धरानको केही क्षेत्रमा आयोजनाले पानी वितरण गरिरहेको बताउँछन् । आयोजनाले वडा ११ को केही भाग, वडा १७ र वडा १५ को ९० प्रतिशत भागमा पानी विरतण गरिरहेको पोख्रेलले बताए । आयोजनाले धरानबासीलाई पानी खुवाउनै नसक्ने हो ? भन्ने प्रश्नमा पोख्रेल भन्छन्, ‘आयोजनाको डिजाइनदेखि नै नेपाल खानेपानी संस्थान र एकीकृत सहरी विकास आयोजना एक भएर पानी सञ्चालन गरेको ९ महिनाको अपरेशन टाइम पछि मात्र हाम्रो परीक्षण हुने हो । अहिले हातखुट्टा बाँधेर नाच भनेजस्तो भएको मात्र अवस्था छ । म के निवेदन गर्छु भने एकीकृत सहरी विकास आयोजना र खानेपानी संस्थानलाई मर्ज गरेर ९ महिनाको मेन्टेनेन्स अवधिसम्म हामी पानी चलाएर हेरौं, त्यो बेला पानी पुगेन भने त्यसको सम्पुर्ण जिम्मेवारी आयोजना प्रमुखको हैसियतले म लिन्छुँ ।’

raju-pokrel

मर्ज भएपछि केही समस्याहरु आउन सक्छन्, त्यसको लागि ९ महिनाको अपरेशसन एण्ड मेन्टेनेन्स समय राखिएको पोख्रेल बताउँछन् । त्यो बीचमा सम्पुर्ण प्रक्रिया पुरा गर्न सकिने र मात्र सम्पुर्ण धरानबासीलाई तोकिएको गुणस्तर, मापदण्ड अनुसार पानी उपलब्ध गराउन सक्ने उनले बताए । ‘मर्ज भएको भोलीपल्टै सबै कुरा हुन्छ भन्ने होइन, मर्ज भएको ९ महिना सम्पुर्ण अवयवहरु पुरा गछौं, बिग्रिएको चिजहरु बनाउछौ, जाँचै दिन पाएको छैन, रिजल्टको आश गर्न सकिदैन,’उनले भने ।