धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ ।

सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजारको आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम तयार गरेको हो । त्यसमध्ये ३ करोड ७२ लाख विभिन्न खेलकुद गतिविधि एवं कार्यक्रमहरुको लागि हो भने २१ लाख ९० हजार प्रशासनिक खर्चको लागि हो । ‘संघले बार्षिक कार्यक्रम र बजेट तयार गरेर प्रदेश सरकारमा पनि प्रस्ताव गरिसकेका छौं, मुख्यमन्त्रीलाई नै भेटेर प्रस्ताव दिएका छौं,’संघका सचिव नविन राईले भने,‘स्थानीय तहमा धरान उपमहानगरमा पनि प्रस्ताव बुझाएका छौं ।’

विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता(पुरुष)अन्र्तगत प्याब्सन र हिसानसँग सहकार्य गरेर २ वटा आयोजना गर्ने कार्यक्रम राखेको छ भने क्लबस्तरीय जिल्ला लिग प्रतियोगिता, प्रदेश लिग, प्रादेशिक एन्फा प्रेसिडेन्ट लिग फुटबल, अण्डर १५ एन्फा एकेडेमी प्रदेश स्तरीय, अण्डर १८ युथ एन्फा प्रदेश क्लबस्तरीय प्रतियोगिता पनि समेटेको छ ।

यस्तै, जिल्ला प्रेसिडेन्ट महिला फुटबल, प्रदेश प्रेसिडेन्ट महिला फुटबल प्रतियोगिता पनि संघले आयोजना गर्ने कार्यक्रम तालिका बनाएको छ । एन्फा एकेडेमी मैत्रीपुर्ण प्रतियोगिता भारत, भुटान र नेपालको एक्स्पोजर कार्यक्रमको लागि पनि बजेट विनियोजन गरिएको छ । यसैगरि, प्रशिक्षक प्रशिक्षण कार्यक्रम, निर्णायक प्रशिक्षण कार्यक्रम, अन्य तालिम तथा गोष्ठी, सम्मान तथा पुरस्कार कार्यक्रमहरु पनि राखिएका छन् । बजेट, नीति तथा कार्यक्रमहरुलाई आवश्यक नियमावली बनाएर प्रभावकारीरुपमा अघि बढाउने संघका अध्यक्ष किसोर राईले बताए ।anfa-b anfa-pradesh anfa-pradesh1