धरान: कोभिड १९ को कारण यसपाली साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम नहुने भएको छ ।

सरकारले साउन ९ गतेसम्म लकडाउन जारी गरेको छ । धरानको पिण्डेश्वर मन्दिरमा भने बर्षेनी साउन महिनादेखि जल चढाउने भक्तजनहरुको घुँइचो लाग्थ्यो । बिशेष गरि साउनको सोमबार अत्यधिक भिड हुन्थ्यो । यसपाली भने कोभिड १९ को कारण बोलबम धार्मिक समारोह नहुने भएको हो । ‘सरकारले मठमन्दिर खोलेको छैन, हामीले आउनुस् भन्न सकिदैन । साउन ९ गतेसम्म त लकडाउन नै छ,’पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले भने,‘सरकारले ९ गते पछि लकडाउन खोल्यो भने हामी पनि पुर्नविचार गरेर खोल्छौं ।’

pindeswor2

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धरानको पिण्डेश्वर, बुढासुब्बा, दन्तकालीलगायत प्रमुख मठ,मन्दिरहरु पनि बन्द गरिएको छ । भिडभाडको कारण संक्रमणको जोखिम हुने भएकोले मठमन्दिर बन्द गरिएको हो । ईतिहासमै पहिलो पटक यहाँको मठमन्दिरहरु बन्द गरिएको हो । धरानमा पिण्डेश्वरमा २०३९ सालदेखि बोलबम धार्मिक समारोह शुरुवात गरिएको थियो । यसपाली कोभिडको कारण पहिलो पटक बोलबम स्थगित गरिएको अध्यक्ष वनेपालीले बताए । ‘तिथिले असार २२ गतेदेखि साउन लागिसक्यो । साउन १ गतेदेखि नै बोलबम शुरु हुन्थ्यो,’अध्यक्ष वनेपालीले भने,‘अहिले पनि भक्तजनहरु फाट्टफुट्ट आउनुहुन्छ तर दर्शन गर्न पाइरहनु भएको छैन । नित्य पुजा भएको बेला मौका पाउछन्, नत्र बन्द नै हो ।’