धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन धरानको वडा नं १४, विजयपुरस्थित प्रमुख धार्मिकस्थलहरु भोली मंगलबारदेखि बन्द हुने भएको छ ।

सर्वसाधारण भक्तजनहरुको स्वास्थ्यप्रति सजग रहदै विजयपुरको प्रमुख मन्दिरका पुजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले आज यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै विजयपुरको प्रमुख मन्दिरहरु बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर चैत २१ गतेसम्मलाई भक्तजनहरुको लागि बन्द रहनेछन् । बैठक आज बिहान १४ नम्बर वडा कार्यालयमा भएको हो ।

नेपाल सरकारको निर्णय अनुसारको मिति चैत २१ गतेसम्म दर्शनार्थी एवं भक्तजनहरुको लागि मन्दिर बन्द हुनेछ । तर, पुजारीले दैनिकको नित्य पुजा भर्ने गर्ने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । बैठकमा धरानकी उपमेयर मञ्जु भण्डारी, वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईसहित मन्दिरका पुजारी, व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागी थिए । चै २१ गतेपछि सरकारले थप निर्णय के गर्छ, सोही अनुसार यहाँका मठमन्दिरहरु खुल्ने वा बन्द हुने पुनः निर्णय हुने पनि वनेपालीले जानकराी दिए ।