धरान: लकडाउनको कारण एईई परीक्षामा सहभागी हुन पाएका विद्यार्थीहरुलाई लक्षित गरेर धरान १० स्थित प्राइम भिजन इन्स्टिच्युट होटल मेनेजमेन्ट एवं प्रभात माविले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

आज धरानका पत्रकारहरुसँग अन्र्तक्रियासमेत गर्दै साउन १ गतेदेखि कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । कोअर्डिनेट अनिल श्रेष्ठले कोभिडको कारण एसईई परीक्षा नहुने र आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन हुने भएकोले तिनै विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क अनलाइन कक्षा शुरु गर्ने बताए । ‘विद्यार्थीहरु स्कुल वा कलेज जान नपाएको ३, ४ महिना भयो, उहाँहरुको पढ्ने बानी पनि छुट्ला कि भन्ने पिर अभिभावकहरुलाई छ,’श्रेष्ठले भने,‘सबै जना एसईई पास हुन्छन् । त्यसैले पढ्ने बानी नछुटोस् भनेर कक्षा ११ को अनलाइन कक्षा निःशुल्क शुरु गर्दैछौं ।’

श्रेष्ठका अनुसार इन्टिच्युटको फेसबुक पेजबाट दैनिक ११ बजेदेखि १२ बजेसम्म अनलाइन कक्षा सञ्चालन हुन्छ । यसको लागि व्यवस्थितरुपमा तयारी भइसकेको पनि उनले जानकारी दिए । इन्टिच्युटले आइतबारदेखि शुक्रबारसम्म कर्मस र होटल मेनेजमेन्टको मात्र तत्काल अनलाइन कक्षा शुरु गर्नेछ । ‘पाँचदिन कर्मसको र शुक्रबार एक दिन होटल म्यानेजमेन्टको पढाई हुन्छ,’श्रेष्ठले भने,‘पछि हाम्रोमा पढ्न आउनुपर्छ भन्ने होइन, विद्यार्थीहरुको पढ्ने बानी नछुटोस् भन्ने उद्देश्य हो ।’

prime

इन्टिच्युटले यसअघि पनि पेपर लेस कक्षा सञ्चालन गरिरहेकोले अनलाइन कक्षाको लागि समस्या नहुने प्रिन्सिपल सुनिल मास्केको भनाई छ । इन्टिच्युटले कोभिड १९ को बेला शैक्षिक राहत स्वरुप निःशुल्क अनलाइन कक्षा शुरु गर्न लागेको उनले बताए । ‘हामीले फेसबुकबाट लाइभ गछौं, र पछि युट्युबमा पनि राख्छौं । अन्य एप्स भन्दा फेसबुक सबैले चलाउछन्, र सहज पहुँच पनि हुने, अन्र्तक्रियात्मक पनि हुने भएकोले रोज्यौं,’प्रिन्सिपल मास्केले भने,‘हामीकहाँ पहिलादेखि नै किताब छैन । विद्यार्थीहरुलाई ट्याब दिएका छौं, र पढाउदा प्रेजेन्टेसन नै गछौं । यो निःशुल्क अनलाइन कक्षामा पनि विद्यार्थीहरुलाई कक्षामा बसेर पढेजस्तै वातावरण बनाउछौं ।’

अनलाइन कक्षा सञ्चालन हुँदा विद्यार्थीहरुले सोधेको जवाफ तत्काल दिइनेछ । त्यसको लागि २ वटा प्रोजेक्टरको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई कक्षा कोठामा बसेर पढेजस्तै अनुभूति दिलाउने अप्रेशन मेनेजर अभिषेक श्रेष्ठले बताए । ‘लकडाउन भएको ३, ४ महिना भैसक्यो । विद्यार्थीहरुले पढ्न पनि छोडेका छन्, । अब दशैं, तिहार पछि मात्र स्कुल, कलेज खुल्छ होला,’उनले भने,‘त्यो बेला गाह्रो हुन्छ । कोर्ष पनि सकिदैन । त्यसैले सहज होस् भनेर अहिल्यैदेखि अनलाइन कक्षा दिने व्यवस्था गर्दैछौं ।’

इन्टिच्युटले केही अभिभावकहरुले कक्षा लिइदिन आग्रह गरेको पनि जनाएका छन् । ती अभिभावकहरुलाई अनलाइन कक्षाको जानकारी दिदा घरमा मोवाइल वा ल्यापटप, इन्टरनेटलगायतको समस्या देखाएको र कक्षामा नै पढाइ दिन आग्रह गरेको प्रिन्सिपल मास्केले बताए । ‘कतिपय अभिभावकहरु प्रविधि दिनसक्ने अवस्था छैन, त्यस्ता विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर, २, ३ सिफ्ट थोरै संख्यामा दुरी कायम गरेर पढाउने केही व्यवस्था हुनुपर्छ,’उनले भने,'आगामी शैक्षिक सत्रमा गरिब, विपन्न परिवारको विद्यार्थीलाई ६० प्रतिशतसम्म छुट दिनेछौं ।'