धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् ।

उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगितामा व्यवसायीकरुपमा नियमित सहभागिता जनाइरहेका हुन्छन् । धरानमा सुनसरी जिल्ला वुद्धिचाल संघ समेत छ । वुद्धिचाल प्रशिक्षण गर्नको लागि कुनै उचित खेलस्थल नभएकोले मात्र, उनीहरु चिया पसल र रुखको छहारीमा बसेर वुद्धिचाल खेलको भोक मेट्न बाध्य छन् । तर अब भने उनीहरुको बाध्यता हट्ने भएको छ ।

chess-park1

वुद्धिचाल खेलाडीहरुलाई नै लक्षित गरेर धरानको १८ न. वडा कार्यालयले चेस पार्क निर्माण गरेको छ । यो नेपालको पहिलो चेस पार्क भएको दाबी गरिएको छ । धरान १८ स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडि रहेको विपि सुन्दर वजारदेखि पश्चिम तर्फ सडक किनारको खाली जग्गामा चेस पार्क निर्माण सम्पन्न हुन लागेको हो । करिव २१ लाख रुपैयामा निर्माण सम्पन्न हुने पार्कको करिव ६० प्रतिशत काम सकिएको १८ नं वडाका अध्यक्ष प्रविण राईले जानकारी दिए ।

भिडियो:

सडक छेउमा रहेको खाली जग्गामा फोहोर फाल्ने, लागुऔषध प्रयोगकर्ताहरु भेला हुने र उनीहरुले प्रयोग गरिसकेको सिरिन्जहरु फाल्ने गरेका थिए । वडामा खाली जग्गाहरु पनि नभइरहेको अवस्थामा खाली जग्गालाई सदुपयोग गर्दै पार्कको निमार्ण गरिएको वडाध्यक्ष राईले बताए । उनले भने, चेस खेलाडीहरुलाई प्रशिक्षण गर्न सजिलो हुनुका साथै धरानलाई खेलकुदको राजधानी वनाउने अभियानलाई समेत यस पार्कले सहयोग पुर्याउने छ ।

भदौ अन्तिमा उद्घाटनको योजना रहेको पार्कमा पाँच वटा चेस वोर्ड, व्याडमिन्टन कोर्ट, गार्डन, चौतारो, वालवालिकाको लागि खेल्ने पिङ्ग, २ वटा लुडो खेल्ने वोर्ड र घेराबारा पनि हुनेछ । यस पार्कले धरानका वुद्धिचाल खेलका खेलाडी तथा सौखिनहरुलाई चिया पसल वा रुखको छहारी खोजेर खेल्नुपर्ने वाध्यता तत्काललाई समाधान हुने वुद्धिचाल खेलका सौखिन अग्रज पत्रकार तथा लेखक जनकऋषि राई बताउँछन् ।

chess-park2 chess-park3 chess-park4 chess-park5