विराटनगर: विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई पनि आज कोरोना संक्रमण पुष्टि भएको छ ।
पत्रकार भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । उनले अहिलेको अवस्थामा विराटनगरमा स्रोत खुल्न सक्ने अवस्था नरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । साथै, उनले आफु कोरोनासँग भिड्न तर साउन १३ गते प्रत्यक्ष भेटघाट गर्ने सबैलाई स्वाब टेष्ट गराउन पनि अनुरोध गरेका छन् । 'विराटनगरमा अहिलेको परिस्थितिमा कोरोनाको स्रोत खुल्न सक्ने अवस्था छैन, तपाँईहरु सचेत रहनुहोस्,'पत्रकार भण्डारीले लेखेका छन्, 'म यता कोरोनासँग भिड्दै गरौंला, साउन १३ यता प्रत्यक्ष भेट भएका साथीभाई तथा चिनजानका सवैले स्वाब टेष्ट गराउनेतिर ध्यान दिनुहोला ।'
पत्रकार भण्डारीका अनुसार प्रदेश प्रहरीमा पहिलो पटक ५ जनालाई पोजेटिभ देखिएको मितिदेखि यता विराटनगर र आसपासका क्षेत्रमा कोरोना आम रुपमा फैलिइसकेको ठम्याई गरेर नै बाहिरी भेटघाटलाई उनले बन्द गर्दै गएको थिए । साउन १५ गते बिहिबार बेलुकासम्म अफिसमा ठिकठाक रुपमै काम गरेको तर शुक्रबार बेलुका अचानक १००.३ डिग्री ज्वरो देखिएको पनि उनले जानकारी दिएका छन् । त्यसयता घरैमा बसेको र साउन २१ गते जैन भवनमा स्वाब दिएका थिए । त्यसको रिपोर्ट आज ४ दिनपछि ूपोजेटिभू आएको पनि पत्रकार भण्डारीले जानकारी दिएका छन् । अहिले घाँटी अलिअलि दुखेको र छातीभित्र कफजस्तो महसुस भएको भए पनि आफु सामान्य अवस्थामा नै रहेको पत्रकार भण्डारीले बताएका छन् ।







