धरान: शनिबार दिउँसो धरानको वडा नं ४ की एक १० बर्षीय बालिकालाई पनि कोरोना संक्रमण भएको खबर फैलियो । पिसिआर रिपोर्ट पोजेटिभ आएको ती बालिकाको ठेगाना धरान ४ नै थियो ।
तर, ती बालिका भने वडा नं ८ मा आफ्नो अभिभावकहरुसँग बस्ने गरेको खुलेको छ । ‘धरान ४ का बालिका भनेर खबर आयो, हामीले सबैतिर सोधखोज गर्दा यहाँ बसाई नभएको पायौं,’वडा नं ४ का सदस्य धनबहादुर कुलुङले भने,‘उसको बुबा प्रिति भल्भमा काम गर्ने भएकोले उतै बस्ने रहेछ ।’ वडा नं ४ धरानको पहाडी क्षेत्रमा पर्छ ।
यसअघि धरान ८, सिद्धकाली चोकमा कोरोना पोजेटिभ भएका प्रिति भल्भका कामदारको कन्ट्याक ट्रेसिङको आधारमा ती बालिकासहित अभिभावकको पनि स्वाब संकलन गरिएको थियो । उनको बुबा र आमाको रिपोर्ट भने नेगेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार संक्रमित बालिकाको बुबा धरानको कोरोना हटस्पट प्रिति भल्भमा नै काम गर्छन् ।
उनीहरु यसअघि परिवारकै ४ जनाको संक्रमण पुष्टि भएको प्रिति भल्भका कामदारहरु बस्ने धरान ८ को घरमा नै डेरा गरि बस्ने गर्छन् । ‘अस्ति परिवार नै ४ जना पोजेटिभ देखिएको परिवार तला डेरामा बस्छन्, यिनीहरु चै माथिल्लो तलामा बस्छन्,’मेहताले भने,‘एउटै फ्याक्ट्रीमा काम गर्ने पोजेटिभ देखिएको र डेरा घर पनि एउटै भएकोले स्वाब कलेन्सकन गरिएको थियो ।’ ती बालिका आज(शनिबार) घरमा नै आइसोलेसनमा रहेका छन् । उनलाई यसअघि संक्रमण भएको परिवारबाट भएको उनको ठम्याई छ ।
जिम हल जाने पनि संक्रमित
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार धरान १० का संक्रमित ३० बर्षीय युवा काठ मिस्त्रीको काम गर्ने जानकारी आएको छ । उनको ट्राभल हिष्ट्री र कन्ट्याक ट्रेसिङ पत्ता लगाउने काम भइरहेको मेहताले बताए । ती युवाले आफु जिम हल जाने गरेको प्रारम्भिक जानकारी दिएका छन् । यो जिम हल धरान ८ को वोनस मलमा सञ्चालित छ ।
यसअघि उक्त जिम हल जाने एक युवामा पनि कोरोना संक्रमण देखिएको थियो । ‘काठ मिस्त्रीको काम गर्ने रहेछ । म जिम हल पनि जान्थे भनेको छ,’मेहताले भने,‘अझ विस्तृतरुपमा बुझ्ने काम भइरहेको छ ।’







