धरान: धरान उपमहानगरपालिका वडा नं ११ की सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिना पनि नबित्दै रहस्यमय तरिकाले मृत्यु भएकी सुनिहाङ्मा लिम्बुलाई न्याय दिलाउनको लागि एक अभियान समिति गठन भएको छ ।

छथरे समाज, धरानको हलमा हिजो शनिबार भएको शोक सभा आयोजना गर्ने क्रममा सुनिहाङ्मालाई न्याय दिलाउन समिति गठन गरिएको हो । आज आइतबार मृतक सुनिहाङ्माका माइती पक्ष र छथरे समाजले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दै ५ सय १ सदस्यीय न्यायका लागि अभियान समिति गठन गरिएको जानकारी दिएको छ । अभियान समितिका संयोजक छथरे समाजका अध्यक्ष मोहनप्रसाद तिगेला रहेका छन् ।

मृतकको श्रीमान र आफन्तहरुले विभिन्न मिडियाहरुमा दिएको अभिव्यक्ति, सामाजिक सञ्जालमा व्यक्त धारणाहरु र अनुसन्धान प्रक्रियाले घटना थप रहस्यमय बन्दै गएको साथै पीडितले न्याय नपाउने आशंकाहरु उब्जिएकोले अभियान समिति गठन गर्नुपरेको संयोजक तिगेलाले बताए । यो समितिले मुद्दाको अनुसन्धान तथा कार्वाहीको माग गर्दै, क्षतिपूर्तिसहितको न्याय पाउने अवस्था सर्जना गर्न अभियान गरिने उनले बताए । संयोजक तिगेलाले न्याय नपाउने अवस्था आएमा संघर्ष गरिने पनि बताए ।

मृतकका काका तथा अभियान समितिका सहसंयोजक अरुण तिगेलाले प्रहरी हिरासतमा रहेका घटनाका एक अभियुक्त तथा सुनिहाङ्माकी आमाजुलाई कोरोना संक्रमण भएको वहानामा घरमा पठाइएकोमा पनि असन्तुष्टी व्यक्त गरे । साथै, पोष्टमार्टम रिपोर्ट आउन ढिलाई भइरहेकोमा पनि उनले चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।

श्रीमानलाई सिंगापुरबाट झिकाएर अनुसन्धानको दायरामा ल्याउन माग

sunihangma1

माइती पक्ष र अभियान समितिले मृतक सुनिहाङ्माको श्रीमानलाई पनि सिंगापुरबाट झिकाउन माग गरेका छन् । पत्रकार सम्मेलनमा मृतकका काका एवं अभियान समितिका सहसंयोजक अरुण तिगेलाले घटनामा अनेक चलखेल हुन थालेको भन्दै मृतकका श्रीमान युवि भनिने आइतराज मावोलाई तुरुन्त नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

किटानी जाहेरीमा उल्लेख भएको मृतकको श्रीमानलाई अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया थालनी नहुनुले घटनामा अनेकन चलखेल हुनसक्ने आशंकाहरु उब्जिएको छ,’उनले भने,‘सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै मृतकको श्रीमान सिंगापुर पुलिसमा कार्यरत युवि भनिने आईतराज मावोलाई तुरुन्त नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन जोडदान माग गर्दछौं ।’

गत भदौ २२ गते बिहान आफ्नै घरको कोठामा सुनिहाङ्मा झुण्डिएर आत्महत्या गरेको श्रीमानको परिवारले दाबी गर्दै आएको छ । तर, माइती पक्षले भने रहस्यमयरुपमा मृत्यु भएको भन्दै हत्याको आशंकामा ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । माइतीको जाहेरीको आधारमा मृतक सुनिहाङ्माको ससुरा, देवर र आमाजु गरि ४ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । श्रीमान मावो भने सिंगापुर पुलिसमा छन् ।

भिडियो:

suni9hangma2 sunihangma3