धरान: विवाह गरेको ३ महिनामा नै मृत्युवरण गर्न पुगेकी धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ ।

सोमबार बिहान घरमा नै आत्महत्या गरेको भनिएकी लिम्बुको माइती पक्ष आज मंगलबार धरान आएर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । माइती पक्षले सोनीले आत्महत्या नगरेको दाबी गर्दै आएका छन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पछि माइती पक्षले मृत्यु शंकास्पद भएकोले अनुसन्धान गरिपाउँ भनेर निवेदन दिएका छ्न । माइती पक्षले शंका भयो, अनुसन्धान गरिपाउँ भनेर निवेदन दिनु भएको छ, डिएसपी बस्नेतल भने, हामी मिहिनढंगले अनुसन्धान गछौं ।

तेह्रथुम माइती घर भएकी सोनीले गत असारमा धरान ११ का सिंगापुरे लाहुरेसँग विवाह गरेकी थिइन् । दुवैले एकअर्कालाई मन पराएर विवाह गरेका थिए । सोनीको श्रीमान् सिंगापुर फर्किएपछि घरमा परिवारसँग नै बस्दै आएकी थिइन् । उनलाई हिजो बिहानको खाना खान बोलाउदा नबोलेपछि ढोका फोडेर हेर्दा सलले पंखामा झुण्डिएको अवस्थामा भेटेको परिवारले दाबी गर्दै आएका छन् । देवरले समातेर उचालेको र छिमेकी एक महिला आएर सलको पाशो फुस्काएर झारेको बताइएको छ । प्रहरी घटनास्थल पुग्दा शव खाटमा राखिएको अवस्थामा थियो ।

माइती पक्षले आफुहरु नआएसम्म शव उठाउन भनेपछि हिजो दिनभरि र रातभरि प्रहरीले घरमा नै रुघेर बसेको थियो । आज मंगलबार बिहान माइती पक्ष आएपछि मात्र शवको सर्जमिन मुचुल्का उठाइएको थियो । माइतीबाट मृतकको काका र दाजु धरान आएका छन् । डिएसपी बस्नेतले सबै कोणबाट घटनाको अनुसन्धान गरिने बताए । 'हामी सबै पक्षबाट अनुसन्धान गछौं । पोष्टमार्टम रिपोर्ट पनि आउला । जे भएको हो, त्यही आउछ,'डिएसपी बस्नेतले भने,'घरपरिवार सबैसँग सोधपुछ, अनुसन्धान राम्रो गछौं ।'