धरान: साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजार र ध्वजे डाँडा प्रशस्तै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । बिशेष गरि ध्वजे डाँडाबाट बिहानै सुर्योदय हेर्न पर्यटकहरु लालयित हुन्छन् ।

यो डाँडाबाट तराईका मनोरम दृष्य र आकाश खुलेको बेला देखिने हिमश्रृंखलाले पनि पर्यटकहरुको मन लोभ्याउछ । सुर्योदय हेर्न बिहानै अध्यारोमा नै डाँडा चढ्नुपर्ने हुनाले पर्यटकहरुलाई निक्कै असहज हुने गथ्र्यो । मोवाइलको लाइट वा टर्च लाइटको भरमा डाँडाको उकालो चढ्नुपर्ने बाध्यता थियो । अब भने पर्यटकहरुले यो समस्या झेल्नुपर्ने छैन ।

डाँडाबजारका युवाहरुले आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान थालेर डाँडाबजारदेखि ध्वजे डाँडासम्म पोल लाइट विस्तार गरेका छन् । उक्त पोल लाइटको हिजो बिहिबार ज्येष्ठ नगारिक ९१ बर्षका लाहाङबहादुर थेगिमले मेन स्वीच अन गरेर उद्घाटन पनि भइसकेको छ । समितिका सचिव सरोज लिम्बुका अनुसार स्थानीय तथा देशविदेशमा भएका डाँडाबजारबासीहरुको आर्थिक सहयोगबाट पोल लाइट विस्तार सम्भव भएको हो । यसको लागि समितिले अक्षय कोष पनि बनाएका छन् । ‘पोल लाइटको महशुल तिर्न र मर्मतसम्भार पनि गर्न सकियोस् भनेर अक्षय कोष बनाएका छौं,’सचिव लिम्बुले भने,‘दाताहरुको नाम स्तम्भ बनाएर बुद्धको मुर्तिसहित राख्छौं ।’

dhoje

समितिका अनुसार २ तिरबाट पोल लाइटलाई ध्वजे डाँडासम्म पुर्याइएको छ । डाँडाबजारबाट ध्वजे डाँडासम्मको पदमार्गमा पोल लाइट राखिएको छ भने ओडारे गाउँदेखि पनि ध्वजे डाँडासम्म पोल लाइट जडान गरिएको समितिका अध्यक्ष पदमबहादुर थेगिमले जानकारी दिए । उनका अनुसार करिब ५० वटा पोल लाइट लगाइएको छ । पोलसहितको खर्च ३ लाख बढी भएको पनि उनले बताए । ‘अब सनराइज हेर्न जाने पर्यटकहरुलाई सजिलो हुने भएको छ । ध्वजे डाँडा र भ्यू टावरमा पनि ६ वटा बत्ति बालेका छौं,’उनले भने,‘टाढाबाट ध्वजे डाँडा झलमल्ल देख्छन् । टुप्पोमा ६ वटा बत्ति बालेका छौं । रंगीचंगी छ ।’