धरान: नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन आइतबारदेखि एक सय घण्टा रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका छन् ।

यसअघिको विश्व रेकर्ड तोडेर नयाँ इतिहास रच्ने लक्ष्यका साथ नेपालका ७२ जना कलाकारहरुले रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका हुन् । इन्टरनेशनल वाटरकलर सोसाइटी(आइ.डब्ल्यु.एस.) नेपाल शाखाको आयोजनामा हुने रिले लाइभ आर्ट डेमोष्ट्रेसनमा प्रदेश १ का पनि १२ जना कलाकारहरु सहभागी हुनेछन् । यो कार्यक्रम आइतबार बिहान ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यालयमा सञ्चार मन्त्री पर्वत गुरुङले उद्घाटन गर्नेछन् । लगत्तै प्रतिष्ठानका कुलपति के.के.कर्मचार्यले मन्त्री गुरुङको मुहार चित्र पोट्रेट गरेर लाइभ डेमोष्ट्रेसनको शुरुवात हुनेछ ।

आयोजक सोसाइटीका प्रदेश १ संयोजक एवं कलाकार महेन्द्र राईका अनुसार यसअघि भारतका कलाकारहरुले निरन्तर ७२ घण्टा रिले डेमोष्ट्रेसन गरेर विश्व रेकर्ड बनाएका छन् । उक्त रेकर्ड तोड्ने गरि नेपालका कलाकारहरु सय घण्टा रिले डेमोष्ट्रेसनमा जुटेका हुन् । यसको लागि सबै ७२ जना कलाकारहरुको समय तालिका तयार भइसकेको छ । भोली आइतबार रिले डेमोष्ट्रेसनको शुरुवात भएपछि सय घण्टा पुरा नभएसम्म निरन्तर कलाकारहरुले पेन्टिङ गर्नेछन् । यसको लाइभ(प्रत्यक्ष) प्रसार सेसाइटीको फेसबुक पेजबाट हुने पनि प्रदेश १ संयोजक राईले बताए । सातै प्रदेशका कलाकारहरुले ४ दिन, ४ रात र ४ घण्टा निरन्तर पेन्टिङ गर्नेछन् ।

प्रदेश १ का दर्जन कलाकारहरु सहभागी

art-l

प्रदेश १ बाट संयोजक राईसँगै जापानमा रहेका धराने कलाकार जीवन पौडेल, अष्ट्रेलियामा रहेका बिक्रम वनेम, प्रनोद दत्त, विगेन राई, धिरज राई, काकडभिट्टाबाट छितेन शेर्पा, बिर्तामोडबाट युवराज रिजाल, पथरीबाट सरोजा खड्गी, बेलबारीबाट शिव छाङ्छा र गणेश लामा, धनकुटाबाट डिल्ली कृष्ण आले विश्व रेकर्ड बनाउन जुट्नेछन् । ‘कार्तिक २३ गते शुरु भएर २७ गतेसम्म दिन रात, एक छिन पनि वाटरकलर पेन्टिङ हुन्छ, एक मिनेट पनि रोकिदैन, सबै अनलाइन लाइभ हुन्छ,’सोसाइटीका प्रदेश १ संयोजक राईले भने,‘नेपाली कलाकारहरु दिनभरि, रातभरि पेन्टिङ गछौं ।’

गिनिज बुकसँग समन्वय

विश्व रेकर्ड बनाउने लक्ष्य लिइएको यो रिले लाइभ आर्ट डेमोष्ट्रेसनबारे आयोजक सोसाइटीले गिनिज वल्र्ड रेकर्डस्सँग सम्पर्क गरिसकेको जनाएको छ । सोसाइटीका प्रदेश १ संयोजक राईका अनुसार गिनिज बुकले कार्यक्रम सम्पन्न भइसके पछि आवश्यक भिडियो तथा कागजात, सामग्रीहरु पठाउन भनेको छ । ‘इतिहास रच्नको लागि रिले लाइभ आर्ट हुदैछ, त्यसैले गिनिज बुक बल्र्ड रेकर्डस्सँग कुरा भइसकेको छ, त्यहाँबाट कार्यक्रम सकेर डिटेल पठाउनु भनेको छ,’उनले भने ।