धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा पर्यटकहरु घुम्न आउने गरि वृद्धाश्रम बनाउने बताएका छन् ।

माया घर नेपाल तथा लोक लक्ष्मी स्मृति प्रतिष्ठान र होम धरानले सडक मानवहरुको सन्दर्भमा आज बिहान आयोजित कार्यक्रममा मेयर राईले यस्तो बताएका हुन् । उनले वृद्धाश्रम बनाउनको लागि लगानी गर्ने टिम पनि धरानमा आइसकेको बताए । ‘नगरपालिकाको यही खालको आश्रयस्थल शुरु गर्नुपर्छ भन्ने सोचेको छ, यसको लागि मानवीय मन भएका टिम आउनु भएको छ । जग्गाको व्यवस्था नगरपालिकाले गरिदेयोस् भन्नु भएको छ,’मेयर राईले भने ।

उनका अनुसार करिब ४, ५ करोड लगानी गर्ने दाताहरु सम्पर्कमा आएका छन्। उपमहानगरपालिकाले वृद्धाश्रमको लागि जग्गा खोजी गरिरहेको पनि उनले बताए । सुविधा सम्पन्न वृद्धाश्रम बनाउने र यो डे केयर सेन्टरकोरुपमा पनि सञ्चालन गरिने मेयर राईको भनाई छ । ‘वृद्धाश्रम डे केयर सेन्टर जस्तो पनि हुन्छ । जसको छोरा बुहारी, छोराछोरी ब्यस्त छन्, उनीहरुले बिहान वृद्ध आमा बुबालाई डे केयरमा छोड्छन्, र बेलुकी लिएर जान्छन्, यो चै सशुल्क हुन्छ,’उनले भने,‘अन्यलाई निःशुल्क नै राखिन्छ ।’

भिडियो :

वृद्धाश्रम पर्यटकीयस्थल जस्तो बनाउने पनि मेयर राईले बताए । जसले गर्दा वृद्धाश्रम आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने उनको भनाई छ । ‘चारधाम खालको मठमन्दिर भएको भयो भने पर्यटक पनि आउने भयो । पर्यटकले २, ४ पैसा खर्च गर्छन्, वृद्धाश्रमको आम्दानी पनि हुन्छ,’उनले भने ।
मेयर राईले धरानमा सहयोगी मन भएका दाताहरु धेरै भएको र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति, संस्था एवं समुहहरु पनि भएको तर संस्थागतरुपमा काम नभएकोमा चिन्ता पनि प्रकट गरे । उनले दर्ता भएर संस्थागत एवं वैधानिकरुपमा काम गर्न धरानका संघसंस्थाहरुलाई आग्रह पनि गरे । ‘प्रक्रिया, पद्दती अनुसार काम गर्नुपर्छ । त्यसरी काम गर्दा दस्तावेजीकरण हुन्छ, धरानका संघसंस्थाहरुलाई म संस्थागत भएर काम गर्न आग्रह गर्छु,’मेयर राईले भने ।

लोक लक्ष्मी स्मृति प्रतिष्ठानलाई सम्मान

maya1

लांघाली सामुदायिक वनको आवास गृहमा राखिएका सडक आश्रित मावनहरुलाई विगत दुई महिनादेखि निरन्तर खाना खुवाई रहेको लोक लक्ष्मी स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको छ । होप धरानको संयोजनमा आज बिहान धरान ८ स्थित लांघाली वन समुहमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका प्रतिनिधि एवं बोर्ड सदस्य रञ्जित श्रेष्ठलाई सम्मान गरिएको हो । सडक मानवहरुलाई व्यवस्थापनको जिम्मा लिएको इटहरीको माया घर नेपालले श्रेष्ठलाई सम्मान गरेको हो । उनलाई मेयर तिलक राईले मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

धरान उपमहानगरपालिकाले गएको बैशाखदेखि सडकमा रहदै आएकाहरुलाई व्यवस्थितरुपमा लांघाली वन समुहको आवास गृहमा राख्दै आएको छ । त्यहाँ हाल ६० जना मानिसहरु छन् । पछिल्लो समय ती सडक मानवहरुलाई इटहरीस्थित माया घर नेपालले रेखदेख तथा व्यवस्थापनको जिम्मा लिएको छ । लोक लक्ष्मी स्मृति प्रतिष्ठानले सडक मानवहरुलाई विगत २ महिनादेखि बिहानको खाना र दिउँसो खाजा खुवाउदै आइरहेको छ । प्रतिष्ठानले खाना खुवाउन थालेको आज ठिक २ महिना पुगेको छ । प्रतिष्ठानले अझै एक महिना मंसिरभरि खाना खुवाउने बोर्ड सदस्य श्रेष्ठले बताए । सडक आश्रित मानवहरुलाई आवश्यकता भएकोले अझै एक महिना मंसिर महिनाभरि खाना खुवाउने बताए ।

बच्चालाई पेम्पर्स र ६० थान बोटुका सहयोग

maya4

लांघाली वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई खाना खादा सहज होस् भन्ने उद्देश्यले ६० थान बोटुका सहयोग भएको छ । होप धरानको पहलमा समाजसेवी तथा गीतकार मिना सिंघक र नायिक रेखा फागोले यो सहयोग गरेका हुन् । यस्तै, दुवै जनाले २ जना बच्चालाई पेम्पर्स पनि सहयोग गरेका छन् । उनीहरुले आज बिहान एक कार्यक्रममार्फत बोटुका माया घरलाई र पेम्पर्स बच्चाकी अभिभावकलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा उनीहरुलाई सम्मान पनि गरिएको थियो ।maya3 maya5