धरान: दिनभरि पनि सडकमै, अनि राती पनि सडकमै । एक किसिमले उनीहरुको जिन्दगी नै सडक ।

सानो दुधे बच्चादेखि युवा, वृद्धहरु पनि धरानको भानुचोक, वीपी प्रतिष्ठानको गेटअघिको सडक यत्रतत्र भेटिन्थे । उनीहरु बाटोमा हिड्नेहरुसँग माग्थे । कसैले खाना खुवाए पेटभरि खान्थे । महिनौंदेखि ननुहाएर छेउ पर्ने नसकिने दुर्गन्ध पनि आउथ्यो । अहिले कोरोना भाइरस(कोभिड १९)को संक्रमणको खतराले देशभर लकडाउनको कारण मानिसहरु घरभित्रै सिमित हुदा पनि उनीहरु भने सडकमा यत्रतत्र हुन्थे ।

सोमबार दिउँसो भने तिनै सडकमा वेवारिसे मानिसहरुलाई प्रहरी र जनप्रतिनिधिहरुले एकत्रित गरेर धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा पुर्याए । उनीहरुले त्यही खाना खाए । नुहाएर सफा भए, र नयाँ कपडा लगाएर चिटिक्क पनि परे । उनीहरुलाई धरान उपमहानगरपालिकाले सडकबाट उद्दार गरेर लांघाली वनको आवास गृहमा ल्याएर राखेको हो । सडकमा रहदा कोरोना संक्रमणको जोखिम भएकोले उपमहानगरले उनीहरुलाई उद्दार गरि व्यवस्थित र सुरक्षितरुपमा राखेको हो ।

langali9

सडक मानवहरुलाई करिब २ महिनासम्म त्यही राखिने र पछि कुनै आश्रमहरुमा लगिने उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । सुरक्षा र उपचारको पनि व्यवस्था गरिने साथै मनोरञ्ज र समय विताउनको लागि विभिन्न खेलको सामग्रीहरु पनि व्यवस्था गरिने बताइन् । धरानको सडकबाट एक बच्चा, १० महिला र ३३ पुरुषसहित कुल ४४ जनालाई लांघालीको आवास गृहमा राखिएको छ ।

आवास गृहमा ओछ्याउने र ओढ्ने व्यवस्था मारवाडी सेवा समितिले व्यवस्था गरेको हो भने उनीहरुलाई ट्रयाक र टि सर्ट पनि उपलब्ध गराएको हो । समितिका अध्यक्ष अनिल अग्रवालका अनुसार सोमबार नयाँ बर्ष पनि भएकोले बेलुकी खिर पनि खुवाइनेछ । त्यहाँ रहनेहरुलाई एक सातासम्म होप धरानले खाना खुवाउने अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । दिनमा महिला प्रहरी सुरक्षाको लागि खटिने छन् भने राती पुरुष प्रहरी रहनेछन् । प्रहरीलाई पनि कोठा उपलब्ध भएको ८ नम्बर वडा कार्यालयका सदस्य एवं सडक मानवहरुलाई व्यवस्थापन गर्न गठित समितिका संयोजक राम थापा मगरले बताए ।

langali7 langali3 langali4 langali8 langhali6 langali-ban2 langhali5 langhali8 langhali-ban. langhali-ma langhali-ban1