धरान: धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा तत्काल सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर फाल्न रोक लगाइने भएको छ ।

धरान उपमहानगरपालिका र इटहरी उपमहानगरका मेयर, उपमेयर, वातावरण महशाखालगायत सरोकारवालाबीच धरानमा भएको बैठकले यस्तो निर्णय गरेको हो । हिजो इटहरी उपमहानगरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा फाल्दै गरेको भेटिए पछि आज सोही बिषयमा बैठक बसेको हो । बैठकले दुवै उपमहागनर क्षेत्रमा कार्यरत ट्यांकर व्यवसायीसँग बैठक बसेर सही ढंगले व्यवस्थापन गर्ने उपाय ननिकालेसम्म जंगल क्षेत्रमा फोहोर फाल्न नदिइने निर्णय भएको धरानका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरले बताए ।

meeting

घिमिरेका अनुसार चाडै दुवै उपमहानगरको ट्यांकर व्यवसायीहरुसँग बैठक बसेर कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय लिइनेछ । 'दिर्घकालिन समाधान भनेको ट्रिटमेन्ट प्लान्ट हो, तर तत्काल ठुलो खाल्डो खनेर त्यसमा व्यवस्थापन गर्ने हो वा के गर्ने हो, त्यो समाधान निकाल्न ट्यांकर व्यवसायीसँग छलफल गर्ने भन्ने निर्णय भएको छ,'घिमिरेले भने,'त्यो निर्णय नभै जंगलमा सेफ्टी ट्यांकीको फोहोर नफाल्ने भन्ने निर्णय भएको छ ।'

बैठकले मानव स्वास्थ्य र वातावरणलाई प्रभाव नपर्ने तरिकाले सेफ्टी ट्याङ्कीको दिशाजन्य फोहोर व्यवस्थापन गर्ने बारे सामुदायिक वन उपभोक्तासँग पनि छलफल गर्ने निर्णय गरेको छ । धरान वडा नं ६ पानवारीमा फोहोरबाट ऊर्जा निकाल्ने लक्ष्यका साथ वेस्ट टु इनर्जी परियोजना सञ्चालनको तयारी भइरहेको छ । यस्तै, ईटहरी उपमहानगरले पनि फोहोर व्यवस्थापन गर्नका लागि ल्याण्डफिल्ड साईड निर्माण गरिरहेको छ ।