धरान: आगामी फागुन ८ गते धरान रन नवौं नेवा च्यारिटी १० के रन प्रतियोगिता आयोजना हुदैछ । यो सँस्करण विगतको भन्दा फरक छ ।

धरान १० के रन नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगितामध्ये एक हो । यहाँ कम्तीमा पनि ३ हजार जना विभिन्न उमेर समुहका धावक धाविकाहरु सहभागी हुन्छन् । च्यारिटी रन भएकोले यो प्रतियोगितामा सहभागी हुनु गर्वको बिषय बन्छ । त्यसैले यो दौड प्रतियोगिताको दर्ता शुरु भएदेखि नै नेपालका चर्चित व्यवसायिक खेलाडीहरुदेखि साना बालबालिका, युवा र भेट्रानहरु पनि फारम भर्न छुटाउदैनन् । तर, यसपाली कोभिड १९ को कारण धरान १० के रन पनि प्रभावित भएको छ ।

आयोजक धरान रन समुहले फागुन ८ गते सय जनालाई मात्र दौडमा सहभागी गराउने घोषणा गरिसकेको छ । हजारौं सहभागी हुन इच्छुक हुने यो प्रतियोगितामा मात्र सय जनालाई सहभागी गराउन कसरी सम्भव होला ? यो चुनौतीपुर्ण व्यवस्थापनमा अहिलेदेखि नै धरान रनको टोली खटिइसकेका छन् ।यसपाली दौड प्रतियोगितामा सहभागी हुनको लागि पुरुषतर्फ १० किलोमिटर दुरी ४० मिनेटभित्र र महिलातर्फ ५० मिनेटभित्र पुरा गरेको रेकर्ड भएमात्र सहभागी हुन पाउनेछन् । त्यसको लागि धरान आउन सहज हुनेहरुलाई आयोजकले दुई साता यता ट्रायल रन गराइरहेको छ ।

dharan-trial-run1

धरान रनका अध्यक्ष रमु राईका अनुसार हरेक बिहिबार बिहान ट्रायल रन भइरहेको छ ।‘अघिल्लो हप्ता ४० जना जति ट्रायल रनमा सहभागी थिए, आज बिहान ३५ जना जति सहभागी भए,’अध्यक्ष राईले भने,‘माघ महिनाभरि ट्रायल रन गराउछौं ।’ समुहका अनुसार गत बिहिबार ट्रालय रनमा सहभागीमध्ये १० जना मात्र निर्धारित समयमा दुरी पुरा गरेर प्रतियोगिताको लागि छनौट हुन सफल भएका थिए भने आज बिहान ९ जना मात्र सफल भएका छन् ।

आज बिहानको ट्रायल रनमा धरान, इटहरी, ताप्लेजुङ, झापा, खोटाङलगायत विभिन्न ठाउँबाट सहभागीहरु आएका थिए । ‘काठमाण्डौंका व्यवसायिक खेलाडीहरुले ट्रालय रनमा सहभागी हुनुपदैन । अन्यले ट्रायल रनमा आउन समस्या छ भने रनिङ एपमार्फत दौडको रेकर्ड पठाउदा नाम दर्ता गरिदिन्छौं,’अध्यक्ष राईले भने,‘यसपाली सिक्किम, दार्जिलिङका खेलाडीहरु पनि आउदैछन्, उनीहरु रनिङ एपबाट छनौट हुन्छन् ।’

प्रतियोगितामा विगतका सँस्करणमा जस्तो उमेर समुहलाई पुरस्कार दिइनेछैन । खुला क्याटोगरि मात्र हुने भएकोले महिला र पुरुषतर्फको विजेताहरु प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः पुरस्कारवापत ५० हजार, ३० हजार र २० हजार पाउनेछन् भने चौथो र पाँचौं स्थान हुनेलाई सान्त्वना पुरस्कार पनि दिइनेछ ।