धरान: धरानको बसपार्कबाट छुटेका बसहरुलाई दक्षिणमा राममन्दिर र उत्तरमा पुरानो अस्पताल, छाताचोकबीचमा रोक्न निषेध गर्ने निर्णय गरिएको छ ।

भिडभाड हुने धरानको भानुचोक र आसापास क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । सोमबार धरान उपमहानगरपालिकामा सरोकारवालाहरुसहितको बैठकमा यसअघि गठन भएको एक समितिले प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमा छलफल गरी बस स्टेण्डबाट छुटेका बसहरु दक्षिणमा राममन्दिरभन्दा मास्तिर रोक्न नदिइने निर्णय भएको छ भने पहाडी क्षेत्रतर्फ जाने बसहरु छाताचोकस्थित पुरानो हस्पिटलभन्दा दक्षिणमा रोक्न नदिइने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिए ।

उनका अनुसार एकै प्रकृतिका सवारीसाधनहरु पनि धेरै ठाउँमा स्टेण्ड लगाएर राख्ने गरिएको छ । आवश्यकताभन्दा बढी स्टेण्डहरुलाई पनि नियन्त्रण गरिने मेयर राईको भनाई छ । ‘अहिले यात्रुवाहक सवारीहरु भानुचोकबाट छुटेपछि रोकिदै रोकिदै जान्छन्, तर अब निश्चित दुरीसम्म रोक्न पाउने भनेर निर्णय गरेका छौं,’मेयर राईले भने,‘एकै खालका सवारीहरु जताजतै स्टेण्ड लगाउने चलन छ, त्यसलाई पनि नियन्त्रण गर्ने निर्णय गरिएको छ ।’

buspark

गत पुष १२ गते ट्राफिक व्यवस्थापनबारे बसेको बैठकले आवश्यक प्रतिवेदन तयार गर्न जिल्ला ट्राफिक कार्यालयका प्रमुख संयोजक रहेको एक समिति गठन गरिएको थियो । समितिका सदस्य सचिव धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटा रहेका थिए । सापकोटाका अनुसार सुनसरी यातायात प्रालिको २०, २५ वटा गाडीहरु ल्याएर भिड गर्ने गरेको कुरा बैठकमा उठेको थियो । उक्त प्रालिलाई बढीमा ५ वटा मात्र गाडी स्टेण्ड राख्न पाउने भनेर पत्राचार गर्ने पनि निर्णय भएको छ । यस्तै, पहाडीरुटका बसहरुको स्टेण्ड रहने क्षेत्रको फुटपाथमा पसलहरु दिउँसो ३ बजेदेखि नै राख्ने गरेकोमा अबदेखि बेलुका ५ बजेपछि मात्र सञ्चालन गर्न दिने निर्णय गरेको पनि उनले बताए ।