धरान: यातायात व्यवसायीहरुले धरानको भानुचोक र आसपासको क्षेत्रलाई सभा, सम्मेलनलगायत कार्यक्रम निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले सोमबार मेयर तिलक राईलाई पत्र बुझाउदै यस्तो माग गरेको हो । महासंघका अध्यक्ष सरोज श्रेष्ठले सवारीसाधनको अत्यधिक भिडभाड हुने भानुचोक बसपार्क क्षेत्रमा राजनीतिक दलको कार्यक्रम, सांगीतिक कार्यक्रमहरु हुँदा ट्राफिक व्यवस्थापन अस्तब्यस्त हुने भएकोले निषेधित क्षेत्र घोषणा गर्न माग गरिएको बताए । उनले भने,‘भानुचोकको बसपार्क क्षेत्र त्यसै पनि अस्तब्यस्त हुन्छ, झन् कार्यक्रमहरु दिनभर हुँदा त्यहाँको अवस्था के हुन्छ ? त्यसैले बसपार्क नसरेसम्म भानुचोकलाई निषेधित क्षेत्र घोषणा गरिनुपर्छ भन्ने माग हो ।’

bhanuchowk-buspark

धरानमा राजनीतिक दलका सभा, सम्मेलनहरु भानुचोकस्थित ट्याक्सी स्टेण्ड र लोकतान्त्रिक चौतारीमा हुदै आएको छ । साथै, विभिन्न सांगीतिक कार्यक्रम तथा कन्सर्टहरु पनि सोही क्षेत्रमा हुने गरेको छ । यसले सधै भिडभाड हुने भानुचोक क्षेत्रको ट्राफिक व्यवस्थानलाई अस्तब्यस्त बनाउँछ । अध्यक्ष श्रेष्ठ भानुचोकलाई निषेधित क्षेत्र बनाउनुपर्ने वा राती मात्र कार्यक्रमहरु आयोजना गर्न दिइनुपर्ने बताउँछन् ।

धरानका मेयर तिलक राईले महासंघको प्रस्तावलाई सकरात्मकरुपमा लिदै सरोकारवाला निकायहरुसँग आवश्यक छलफल गर्ने बताए । यो बिषयमा राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन सबैसँग छलफल गरिने उनले बताए । ‘दुई वटा टेम्पो, बस पार्क गर्दा त कत्रो समस्या हुन्छ, झन् दिनभरि कार्यक्रम गर्दा धेरै नै समस्या हुन्छ,’मेयर राईले भने,‘सम्बन्धित सरोकारवाला निकायहरुसँग बसेर छलफल गछौं ।’ मेयर राईका अनुसार करिब दशकअघि पनि भानुचोकमा सभा, सम्मेलन गर्न नदिने निर्णय भएको थियो तर, उक्त निर्णय पछि कार्यान्वयन हुन नसकेको उनले बताए ।

bus