धरान: २१ औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली रनिङ कप आगामी फागुन तेस्रो सातादेखि धरानमा आयोजना हुने भएको छ ।

धरान १६ स्थित रंगशालमा सञ्चालन हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत ७ गतेसम्म हुने आयोजक गोधुली क्लबले जनाएको छ । । पुष महिनामा आयोजना हुनुपर्ने प्रतियोगिता यसपाली कोभिड १९ को कारण समयमा नै हुन नसकेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनले भने,‘पुष २० गतेदेखि हुनुपर्ने थियो, कोभिडको कारण हुन सकेन । त्यसैले फागुन २२ गतेदेखि चैत ७ गतेसम्म आयोजना गर्ने तयारी गरेका छौं ।’

प्रतियोगिताको विजेता र उपविजेतालाई गत बर्षकै पुरस्कार राशीको व्यवस्थाप गरिएको छ । उपाध्यक्ष केसीका अनुसार विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र अन्य उत्कृष्ट विभिन्न विधाका खेलाडीहरुलाई पनि नगदसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा धरानका सबै २० वटै वडा कार्यालयको टिम सहभागी हुने आयोजकले जनाएको छ । धरानका वडाका प्रतिभावान खेलाडीहरुले आफ्नो खेल क्षमता प्रर्दशन गर्ने अवसरकोरुपमा यो प्रतियोगितालाई लिने गरिन्छ । यो प्रतियोगिता धरानको चर्चित बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो हो । यो प्रतियोगिताबाट थुप्रै प्रतिभावान खेलाडीहरु उत्पादन भएका छन् । प्रतियोगितामा गत बर्ष धरानको वडा १७ विजेता भएको थियो भने धरान १६ उपविजेता भएको थियो ।