धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अण्डर १३ उमेर समुहको दुई दिने खेलाडी छनौट धरानमा पनि शुरु भएको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा धरान क्षेत्रको दुई दिने छनौट शुरु भएको हो । शुक्रबार पहिलो दिन ४१ जनाले फारम भरेको धरान क्षेत्र छनौटका संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार ती मध्ये प्रारम्भिक छनौटमा १० जना बाहिरिएका छन् भने बाँकी रहेको ३१ जनालाई भोली शनिबार बिहान पुनः फाइनल छनौटको लागि बोलाइएको छ । ‘आज स्कुल लागेको कारणले पनि कम सहभागी भए । भोली शनिबार विदा भएकोले छनौटमा धेरै संख्या सहभागी हुन्छन्,’संयोजक केसीले भने ।

anfa1

एन्फाले २०७८ सालदेखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्नको लागि सुनसरीमा पनि ५ क्षेत्रमा अण्डर १३ छनौट भइरहेको छ । इटहरीमा हिजो छनौट भइसकेको छ भने धरान क्षेत्रमा आज शुक्रबारदेखि शुरु भएको हो । इनरुवा क्षेत्रमा माघ २५ गते, बराहक्षेत्रमा माघ २६ गते र दुहबीमा माघ २७ गते छनौट हुने एन्फा सुनसरी जिल्ला उपाध्यक्ष नविन राईले जानकारी दिए । उनका अनुसार शनिबार पनि छनौटमा सहभागी हुनेहरुमध्ये उत्कृष्टलाई छनौट गरेर पठाइनेछ ।

anfa2

छनौटमा २०६५ असोज १५ देखि २०६६ असोज १४ गतेभित्र जन्मेकाहरु मात्र सहभागी हुन पाउनेछन् । छनौटमा सहभागी हुनको लागि जन्मदर्ता आवश्यक पर्ने पनि उपाध्यक्ष राईले जानकारी दिए । ‘एउटा क्षेत्रबाट कम्तीमा १५ जना छनौट गर्ने भन्ने छ । क्षेत्रबाट छनौट भएकाहरु जिल्लास्तरमा जान्छ, त्यहाँबाट प्रदेशमा छनोट गरेर केन्द्रमा जान्छ,’उपाध्यक्ष राईले भने ।