धरान: ललितपुरको चापागाउँमा आयोजित क्रस द्ववाथलन च्यालेञ्ज सिरिजमा धरानका ३ जना ट्राइयाथलन खेलाडीहरु विजेता भएका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनामा आज शनिबार सम्पन्न द्ववाथलन सिरिजमा पुरुषतर्फ ट्राईयाथलन धरानका खेलाडी किरण लिम्बु पहिलो हुँदै विजेता भए भने सुरज पासवान दोस्रो भए । यस्तै, महिलातर्फ पनि धरानकी खेलाडी बिडिसा चौधरी विजेता भइन् । धरानमा ट्राइयाथलन खेलाडी उत्पादनमा निरन्तर लागि परेका डा.समिर चौधरीका अनुसार पुरुषतर्फका विजेता किरणले ३५ मिनेट ४२ सेकेण्डमा दुरी पार गरेका थिए भने दोस्रो भएका सुरजले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गरे ।

tri

यस्तै, महिलातर्फ विजेता बनेकी बिडिसाले ४९ मिनेट ५२ सेकेण्डमा दुरी पार गरेकी थिइन् । विजेता खेलाडीहरुलाई आयोजकले गिफ्ट ह्याम्पर दिएको थियो । ट्राईयाथलनको विधामध्ये एक क्रस द्ववाथलनमा २.५ किलोमिटर दौड, १० किलोमिटर साइक्लिङ र १.५ किलोमिटर दौड हुने गर्छ । ट्राईयाथलनका नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्य लिएर संघले गत महिनादेखि द्ववाथलन सिरिज शुरु गरेको हो । प्रत्येक दुई सातामा आयोजना हुने सिरिजमा नयाँ खेलाडीहरुले अवसर पाउँछन् । संघले सन् २०२१ भरि नै सिरिज गर्ने जनाएको छ ।

धरान टा्रईयाथलनका अभियन्ता डा.चौधरीका अनुसार धरानमा पनि खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर अंग्रेजी महिनाको अन्तिम शुक्रबार ४ किलोमिटर साइक्लिङ आयोजना हुने गरेको छ । खेलाडीहरुलाई साइक्लिङको प्रशिक्षण भूपू भारतीय सैनिक तथा साइक्लिङ खेलाडी पुर्ण प्रधानले प्रशिक्षण गराइरहेका छन् ।