धरान: धरान १२ स्थित हिमालयन मेघा कलेजले बास्केटवल खेलाडीहरुलाई चार बर्षे बिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

धरान बास्केटवल संघ, सुनसरी बास्केटवल संघको सिफारिश वमोजिम कलेजले ९ जना खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शुक्रबार संघका पदाधिकारीहरु, कलेजका पदाधिकारी, खेलाडीका अभिभावक र खेलाडी बीच छात्रवृत्तिबारे लिखित सम्झौता पनि भएको छ । कलेजले भर्खरै मात्र १२ कक्षा उतिर्ण भएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो । छात्रवृति प्राप्त गर्ने खेलाडीहरुमा सरोज राई, अभिमान राई, सन्दिप राई, विधान राई, मौसम राई, सन्तोष तामाङ्ग, सविन राई, दिवस राई र एमन राई रहेका छन् ।

अभिमान राई, एमन राई, सन्तोष तामाङ्ग, दिवस राईलगायत ११ र १२ कक्षामा समेत छात्रवृत्ति प्राप्त खेलाडी हुन् । एक दशक अघिदेखि नै संघले उत्कृष्ट विद्यार्थी खेलाडीहरुलाई सिफारिस गरेर धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रवृति प्रदान गर्दै आएको छ । संघले केही बर्षदेखि लिखितरुपमै सम्झौता गरेर छात्रवृत्ति उपलब्ध गराउदै आएको नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले बताए । यसपटकदेखि पहिलो पटक व्याचलर लेवलमा पनि लिखित रुपमा सम्झौता सुरु गरिएको उनले जानकारी गराए ।

basket1

बास्केटवल खेलमा निरन्तर सहयोग र सहकार्यको लागि हिमालयन मेघा कलेज परिवारलाई संघको तर्फबाट धन्यवाद दिएका थिए । छात्रवृत्ति खेलाडीहरुले अनुशासित भई कलेजको नियम पालना गर्दै अध्ययन र खेल दुवैलाई अगाडि बढाउनु पर्नेछ । सम्झौता भन्दा बाहिर गएमा सम्झौता स्वत भंग हुने र छात्रवृति खारेज हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । विद्यार्थीहरुमा भएको अतिरिक्त क्षमता तथा क्रियाकलापलाई प्रोत्साहन गर्नका लागि पनि कलेजले छात्रवृत्ति योजना ल्याएको कलेजका अध्यक्ष कैलाश लिम्वुले बताए ।

कलेजले बास्केटवल खेल मात्र नभएर विद्यालय स्तर वाट नै फुटवल, भलिवल, टेवलटेनिस, नृत्य जस्ता अतिरिक्त क्रियाकलापहरुमा क्षमता भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आइरहेको पनि उनले बताए । प्ले गु्रपदेखि कक्षा १० र स्नातक तहको अध्यापन हुने हिमालयन मेघा कलेजमा आउदो वर्षदेखि कक्षा ११ को अध्ययन समेत सुरु हुने अध्यक्ष लिम्वुले जानकारी दिए । कार्यक्रममा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेम, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रदेश १ बास्केटवल टिम कप्तान नविन राई, प्रशिक्षक रन्जित लिम्वु, हेमन राई, युगल लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

भिडियो: