धरान: शनिबारदेखि धरानको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप-२०७७ शुरु हुने भएको छ ।

आयोजक गोधुली क्लबले आज(बिहिबार) बुद्धचोकस्थित एम.सि.क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पुर्ण तयारी भइसकेको पनि उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको कारण प्रतियोगितालाई असर पुगेपनि निरन्तरताकै लागि आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल गत बर्षको विजेता उपविजेता धरानको वडा नं १६ र वडा नं ७ बीच हुनेछ । प्रतियोगितामा धरानको २० वटा वडाहरुमध्ये १९ वटा वडाको टिमले सहभागिता जनाउने केसीले बताए । उनका अनुसार २ नम्बर वडाले यसपटक सहभागिता जनाउने छैन । नयाँ खेलाडीहरुलाई खेल प्रतिभा देखाउने अवसरकोरुपमा तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य गोधुली रनिङ कपको भएको उनले बताए ।

प्रतियोगितामा यसबर्ष पुरस्कार राशी वृद्धि गरिएको छैन । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ । यस्तै, बेष्ट प्लेयरले ११ हजार १ सय ११ नगद पुरस्कार पाउनेछ । राइजिङ प्लेयर, बेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेष्ट गोल किपर, बेष्ट कोच र बेष्ट स्ट्राइकरले जनही नगद ५ हजार ५ सय ५५ रुपैया पाउनेछ भने हाइ स्कोररले ७ हजार ५ सय रुपैया पुरस्कार पाउनेछ । प्रतियोगितामा कुल खर्च १३ लाख २८ हजार २ सय ७७ रुपैया रहने क्लबले अनुमान गरेको छ ।