धरान: स्थानीयस्तरमा लाइसेन्स भएको प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले धरानमा ४ दिने कम्युनिटी कोचिङ कोर्ष शुरुवात भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) जिल्लाको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा कोर्ष शुरुवात भएको हो । कोर्षमा जिल्लाका विभिन्न क्लबका प्रशिक्षक तथा पुर्वखेलाडीहरु सहभागी छन् भने उदयपुर, खोटाङ र सोलुखुम्बुबाट पनि गरि कुल ३१ जना सहभागी भएको कार्यक्रम संयोजक नविन राईले जानकारी दिए । उनका अनुसार गाउँ तथा स्थानीय क्लबहरुलाई लक्षित गरेर लाइसेन्स भएका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो ।

coaching1

एन्फाका अनुसार यो डि लाइसेन्स कोचको लागि आयोजना गरिएको कोर्ष हो । एन्फाले लाइसेन्स नभएकालाई आधिकारिकरुपमा प्रशिक्षक एवं कोच बन्न नपाउने व्यवस्था गरेको छ । त्यसैले लाइसेन्स भएका कोच उत्पादन गर्नको लागि यो बेसिक कोर्ष (डि लाइसेन्स) आयोजना गरिएको राईले बताए । ‘प्रत्येक जिल्लामा एन्फाले यो कार्यक्रम ल्याएको छ । यहाँ सुनसरीको लागि भएपनि पायक पर्ने जिल्लाबाट पनि सहभागी भएका छन्,’उनले भने ।

यो बेसिक कोर्ष सकेकाहरुले मात्र सि लाइसेन्स लिन पाउनेछन् । यो कोर्षमा मुख्य प्रशिक्षककोरुपमा सञ्जित सिंह छन् । सहभागीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाइने आयोजकको भनाई छ ।