धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको छ ।

कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप नहुने भएको हो । आयोजक धरान फुटबल क्लबले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ । २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो । द्धन्दकाल, मधेश आन्दोलनजस्ता बिषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो । 

क्लबका अध्यक्ष किसोर राईले प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउदै आएको बताए । तर, यसपाली कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताए ।


आयोजक क्लबले गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र  राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए । 

यस्तै, उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको उनले बताए । ‘हामीले अनेक प्रयास गर्दा पनि प्रदेश सरकार र राखेपबाट बजेट पाएनौं, त्यसैले २२ बर्षको इतिहासमा पहिलो पटक समयमा पुरस्कार राशी उपलब्ध गराउन नसकेकोमा दुःखित छौं,’उनले भने । अध्यक्ष राईले धरान उपमहानगरपालिकाले गोल्डकपको अभिभावकत्व ग्रहण गर्न नसकेको र आवश्यक सहयोग, बजेट उपलब्ध नगराएकोप्रति पनि गुनासो गरे ।