महिला सशक्तिकरण भनेको महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पुर्‍याउनु हो । देशको समग्र विकासको लागि महिला र पुरुष दुवैमा समान विकास हुनु पर्दछ। देशको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुच बढाउन सकेमा मात्र न्यायिक र सन्तुलित विकास सम्भव छ। नेपाल लगायत सबै देशहरूले यो कुराको महसुस गरेका छन् ।

यही कुरालाई ध्यानमा राखी विश्वमा महिलाको सक्रियता बढाउने प्रयत्न हरू पनि भइरहेका छन् । नेपालमा पनि यी अन्तर्राष्ट्रिय प्रयासहरुको प्रभाव स्वरुप हाल केही रूपमा महिला सशक्तिकरणका प्रयासहरू थालिएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा महिला आरक्षणका प्रयासहरू गरिएका छन् । त्यस्तै गरी कानुनमा भएका विभेदहरुलाई अन्त्य गर्ने प्रयासहरू पनि अधि बढेका छन् ।

महिला विरुद्ध हुने गरेका सबै प्रकारका हिंसा लाई रोक्नका लागि महिलाहरु बाटै संगठित प्रयासहरू थालिएका छन् भने सरकारले समेत महिलाहरूलाई अधिकार सम्पन्न बनाउनका लागि चेतनामूलक कार्यक्रमहरू विस्तार गर्न थालेको छ तर वाच्छित रुपमा सफलता प्राप्त गर्न सकिएको छैन । जनसंख्याको आधा हिस्सा महिला भएता पनि महिला जनशक्ति परिचालन पुरुषको तुलनामा न्यून छ । नेपालमा महिलाहरुले सामाजिक क्रियाकलाप, आर्थिक क्रियाकलाप, राजनैतिक क्रियाकलाप र निर्णय प्रक्रियामा यथेष्ट योगदान पुर्‍याउन सकिरहेका छैनन् । यिनीहरूमा विभिन्न चुनौतीहरू थपिएको छ । 

महिला सहभागिताका चुनौतीका विषयवस्तु यी हुन्:

१) अशिक्षा:- नेपालमा पुरुषको तुलनामा महिलाहरु कम शिक्षित छन् ।अभिभावकहरू छोरीको पठनपाठन भन्दा छोराको पठनपाठनलाई बढी महत्व दिन्छन् । अशिक्षाको कारणबाट आर्थिक, राजनैतिक, सामाजिक आदि क्षेत्रमा सहभागिता हुन सकिरहेका छैनन् ।

२) परम्परागत सामाजिक मूल्य मान्यता एवम धारणा:- परम्परागत मुल्य मान्यताले महिलाहरूलाई तल्लो स्तरमा राखेको पाइन्छ। महिलाहरु प्रति राखिने नकारात्मक सोचहरू जस्तै विधवा, बाझी, बोक्सीको आरोप, धुम्टो प्रथा, दाइजो प्रथा, रखौटी, राजस्वला भएको बेला छुवाछुत प्रथा, पराईघर जाने जातको संज्ञा, सहनशिल हुनुपर्ने, अर्को विवाह गर्न नहुने आदि दोषपूर्ण सामाजिक दृष्टिकोणहरू रहेको पाइन्छ ।

३) उच्च जनसंख्या वृद्धिदर:- कुनै एउटा महिलाले छोरा नजन्माएर छोरी मात्र जन्माएमा छोरा पाउने आशाले बच्चाको जनसंख्या वृद्धि हुने, छोरा नपाएमा अर्को बच्चा जन्माउन पुरुषले कर गर्ने हुँदा महिलाको निर्णय प्रक्रियामा पहुँच कम छ।

४) महिला हिंसा:- महिलाहरु हिंसाबाट पिडीत हुने समस्या नेपाली समाजमा महत्वपूर्ण चुनौतीको रुपमा रहेको छ । बलात्कार, यौनशोषण आदि जस्ता हिंसात्मक गतिविधिले गर्दा महिलाहरु प्रभावित देखिन्छन् । महिला माथि हिंसात्मक बोझ थोपार्नले उनीहरुको अवस्था तथा भविष्य झन भयावह र अनिश्चित बन्दै जान्छ । नेपाल जस्तो कम विकसित मुलुकमा विभिन्न कारणले महिलाहरु हिंसाको सिकार बन्दै गएका छन् ।

५) शक्ति संरचनामा पुरुषको पहुँच:- निती निर्माण एवम् उच्च तहमा पुरुषको पहुँच बढी हुने हुँदा उनीहरुको विषयगत इच्छा र आकंक्षा अनुरूप कानुनहरू बनाइन्छ । यसबाट महिला सशक्तिकरणमा नकारात्मक प्रभाव परेको छ ।

६) मनोवैज्ञानिक पक्षको प्रभाव:- महिलाहरुलाई घर बाहिर काम गर्न स्वतन्त्रता कम दिने परिपाटी छ । महिलाहरुलाई पुरुषको नियन्त्रणमा रहनु पर्ने, घर संचालन जिम्मेवारी राख्नुपर्ने आदि सामाजिक, पारिवारिक, सांस्कृतिक पक्षको कारण महिला सहभागितामा चुनौती खडा गरेको पाइन्छ ।

७) नितीको कार्यान्वयन नहुनु:- राष्ट्रिय ,अन्तर्राष्ट्रिय, एवम् क्षेत्रिय र केन्द्रीय स्तरमा महिलाहरुको सक्रियता, सहभागिता र पहुँच पभावकरिता कार्यान्वयनमा भर पर्दछ । यदि निती राम्रो भएता पनि त्यसलाई कार्यान्वयन गरिएन भने अर्थहीन र असफल बन्दछ । नेपालको सन्दर्भमा महिला विकास प्रति  सरकारी प्रयास प्रभावकारी हुन सकेको छैन । विशेषगरी लक्षित समुदायको महिलाको साधन र स्रोतमा न्यून पहुँच छ। सहरमुखी कार्यक्रममा बढी जोड दिएकोले यसबाट सशक्तिकरणमा नकारात्मक प्रभाव परेको छ ।