धरान: स्थापनाको छोटो समयमै श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
श्रम सँस्कृतिले सुनसरी १ बाट हर्कराज राई साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई गरि कुल ३ सिट जितेको छ । यस्तै, समानुपातिकतर्फ पछिल्लो अपडेट अनुसार गणना भएको कुल मतमा ३ लाख ४७ हजार ७८५ मत पाएको छ । समानुपातिकतर्फको गणना जारी रहदासम्म रास्वा, कांग्रेस, एमाले, नेकपा, श्रम सँस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाएको निर्वाचन आयोगले जनाएको छ।
जेन जी आन्दोलनपछि संसद विघटन र नयाँ जनादेशको लागि प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुने घोषणा भएको थियो । त्यसपश्चात तत्कालिन धरानका नगर प्रमुख साम्पाङले १६ कार्तिक २०८२ मा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि चुनाव आउन थोरै समय भएको र देशव्यापीरुपमा संगठन विस्तारको अभियान लैजान नपाएपनि मतपरिणाम सन्तोषजनक रहेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले प्रतिक्रिया दिए ।

उनका अनुसार कोशी प्रदेशमा ३ सिट जितेको र अरु उम्मेद्वारहरु पराजित भएपनि केहीमा दोस्रो, केहीमा सम्मानजनक मत पाएका छन् । ‘हामीसँग समय ज्यादै छोटो भयो । पार्टी दर्ता पछि चुनावमा होमिनुपर्यो, संगठन विस्तारलाई राम्रोसँग लैजान समय भएन,’ उनले भने,‘र पनि प्रत्यक्षमा ३ सिट जित्यौं, समानुपातिकमा थ्रेसहोल्ड कटेर राष्ट्रिय पार्टी बन्यो, यो नै उपलब्धि हो ।’
सुनसरी १ मा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत

श्रम सँस्कृति पार्टीले सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पाएको मत भन्दा समानुपातिकतर्फ कम मत पाएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको मतपरिणाम अनुसार समानुपातिकतर्फ खसेको कुल मत ८५ हजार ५०२ मध्ये श्रम सँस्कृति पार्टीले ३२ हजार २३० मत पाएको छ । प्रत्यक्षतर्फ भने यो पार्टीका उम्मेद्वार साम्पाङले ३५ हजार ७४१ मत पाएका थिए । समानुपातिकमा ३ हजार ५११ मत कम पाएको छ ।
यस्तै, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३० हजार ६६९ मत पाएको छ । प्रत्यक्षतर्फ उम्मेद्वार गोमा तामाङले २७ हजार २४९ मत पाएकी थिइन् । प्रत्यक्षभन्दा समानुपातिकमा ३ हजार ४२० मत बढी हो ।
यसैगरि, समानुपातिकतर्फ नेकपा एमालेले ७ हजार ८७ मत पाएको छ भने नेपाली कांग्रेसले ४ हजार ९९२, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ९२८, राष्ट्रिय प्रजातन्त्र पार्टीले २४४८, राष्ट्रिय परिवर्तन पार्टीले १३२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फ कुल ५७ राजनीतिक दलहरु रहेका थिए ।




