धरान: धरान उपमहानगरपालिकाको सबै वडासमेत रहेको सुनसरी निर्वाचन क्षेत्र नं १ मा २०४६ को राजनैतिक परिवर्तन पछि भएका सबै चुनावमा कम्युनिष्ट उम्मेद्वारले जित्दै आएका थिए । २०६४ मा तत्कालिन नेकपा माओवादीले जिते बाहेक सधै नेकपा एमालेले जित्दै आएको क्षेत्र पनि हो । त्यसैले सुनसरी १ लाई लालकिल्ला वा कम्युनिष्ट गढ मानिदै आएको हो ।
अघिल्लो पटकको संसदीय निर्वाचनमा एमालेको उम्मेद्वार नभएपनि जसपाका नेता अशोककुमार राईलाई समर्थन गरेर विजयी गराएको थियो । राईको राजनीतिक पृष्ठभुमी पनि एमाले नै हो । सुनसरी १ मा दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र छ । दुई पटक भएको प्रदेशसभाको निर्वाचनमा पनि यहाँबाट दुवै पटक एमालेकै उम्मेद्वारहरुले जितेका छन् ।
एमालेबाट सुनसरी १ का जनताले नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुब्बालाई पनि जिताएर पठाएको इतिहास छ । कम्युनिष्ट उम्मेद्वारले सधै जित्दै आएको सुनसरी १ को इतिहासमा यो पटकको संसदीय निर्वाचनले भने ब्रेक लगाएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट जितेका उनले करिब डेढ बर्ष कार्यकाल बाँकी रहदै पदबाट राजिनामा दिएर उम्मेद्वारी दिएका थिए । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लहर आइरहदा यहाँ भने साम्पाङको जित भयो । उनले करिब तीन महिनाअघि मात्र श्रम सँस्कृति पार्टी खोलेका थिए ।
यो निर्वाचन क्षेत्रमा पर्ने धरान उपमहानगरमा २०७६ को उपनिर्वाचनमा पहिलो पटक मेयरमा कांग्रेसले जितेर एमालेको किल्ला ढालेको थियो । २०७९ को स्थानीय निर्वाचनमा भने स्वतन्त्र उम्मेद्वार साम्पाङले जितेर धरानलाई न कम्युनिष्टको विरासत फर्काउन दिए, न कांग्रेसलाई जित दोहोर्याउन । यसपाली संसदीय निर्वाचनमा पनि लोकप्रिय मतका साथ साम्पाङ विजयी भए ।
प्रमुख पार्टीका उम्मेद्वारले आफ्नो वडामा कति पाए मत ?

प्रमुख राजनैतिक दलका उम्मेद्वारहरुले आफ्नै वडामा पनि मत अपेक्षाकृत पाउन सकेनन् । २०७९ को निर्वाचनमा विभिन्न वडामा जितेको एमाले, कांग्रेस र तत्कालिन माओवादी (हाल नेकपा) का उम्मेद्वारले पाएको मत न्युन छ ।
श्रम सँस्कृति पार्टीका उम्मेद्वार साम्पाङले आफ्नो वडा १८ मा अन्य उम्मेद्वार भन्दा बढी ७७२ मत पाएका छन् । यहाँ रास्वापाले २१९, नेकपाले ८५, एमालेले ७५ र कांग्रेसले ५३ मत मात्र पाएको छ । यो वडामा स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो ।
यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सरिन तामाङले आफ्नो वडा ११ मा ९६१ मत पाइन् । उनको वडामा श्रम सँस्कृतिका उम्मेद्वार साम्पाङले सबैभन्दा बढी ३९३८ मत पाएका छन् । यहाँ कांग्रेसका वडाअध्यक्ष छन् । यो वडामा कांग्रेसले १३४ मत पाएको छ ।
एमालेका उम्मेद्वार टिकाराम लिम्बूले आफ्नो वडा १० मा १४८ मत मात्र पाए । यो वडामा श्रम सँस्कृतिले सबैभन्दा बढी ९६४ मत पाउदा रास्वपा उम्मेद्वारले ४५७ मत पाए । यो वडामा एमालेका वडाअध्यक्षसहित जनप्रतिनिधिहरुले जितेका छन् ।
यस्तै, २ पटक लोकप्रिय मतको साथ धरान १७ को वडाअध्यक्ष जितेका मनोज भट्टराईले पनि आफ्नो वडामा अपेक्षाकृत मत पाएनन् । उनले आफ्नो वडामा १२४८ मत पाउदा श्रम सँस्कृतिका उम्मेद्वार साम्पाङले सबैभन्दा बढी ३४०५ मत पाएका छन् ।
यसैगरि, नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङले आफ्नो वडा १५ मा २३४ मत मात्र पाए । त्यही वडामा श्रम सँस्कृतिका साम्पाङले सबैभन्दा बढी ४५७५ मत पाए भने रास्वपा उम्मेद्वार सरिनले २०५८ मत पाइन् । स्थानीय निर्वाचनमा यो वडामा एमालेले जितेको थियो । एमाले उम्मेद्वारले भने यहाँ ५०७ मत मात्र पाएको छ ।
एमालेको एउटा वडामा ५ सय बढी मत, कांग्रेसको कुनै वडामा कटेन ३ सय
यो निर्वाचनमा एमाले र कांग्रेसले निराशाजनक मत पायो । एमालेले एउटा वडाबाहेक कुनै पनि वडामा ५ सय मत कटाउन सकेन भने कांग्रेसले कुनै पनि वडामा ३ मत कटाउन सकेन ।
एमालेले वडा नं १५ मा मात्र ५०७ मत पाएको छ । अन्य सबै वडामा पाएको मत ५ सय भन्दा कम छ । नेपाली कांग्रेसले कुनै पनि वडामा ३ सय मत कटाउन सकेन ।




