धरान: स्ट्रङ्गेस्ट मेन अफ नेपालको उपाधि विजेता एवं पुर्व मिस्टर धरान स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजित इन्टर हाउस पावर लिफ्टिङ प्रतियोगिताको उपाधि विभिसन राई, देवि राई, शशी झा र विष्णु लामाले जितेका छन् । 

धरान ८ स्थित धरान फिटनेस क्लवले आयोजना गरेको खेलमा महिलातर्फ  विभिसनले ६० केजि तौल मुनि र देवि राईले ६० केजि तौल माथिको उपाधि जितेकी हुन् । यस्तै, पुरुषतर्फ शशी झाले ६५ केजि तौल मुनि र विष्णु लामाले ६५ केजि तौल माथीको तौल समुहमा उपाधी जितेका हुन् । विजेताहरुले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्र र १० हजार रुपैया वरावरको सप्लिमेन्ट्रि डाइट प्राप्त गरेका छन् । नगद पुरस्कार धरानका व्यवसायी विमल उदासले प्रायोजन  गरेका थिए । 

महिला तर्फको खेलमा ६० केजी तौल मनिका विजेता विभिसनले स्क्वाटमा ७५ केजि, वेन्चप्रेसमा २५ केजी र डेडलिफ्टमा ६० केजि तौल उठाएकी थिइन् । ६० केजी तौल माथीका विजेता देवि राईले स्क्वाटमा ८५ केजी, वेन्चप्रेसमा २५ केजी र डेडलिफ्टमा ८० केजी तौल उठाएकी थिइन् । 

पुरुष तर्फ ६५ केजी तौल समुहका विजेता शशी झाले स्क्वाटमा १ सय २० केजी, वेन्चप्रेसमा ८५ केजी र लिफ्टमा १ सय ४० केजी तौल उठाएका थिए । ६५ केजी माथि तौल समुहका विजेता विष्णे लामाले स्क्वाटमा १ सय २५ केजी, वेन्चप्रेसमा १ सय केजी र डेडलिफ्टमा १ सय ५५ केजी तौल उठाएका थिए ।

खेलमा महिला तर्फ ६० केजी तौल समुहमा लिजा लावुङ दोस्रो र मनु लिम्वु तेस्रो भइन् । ६० केजी माथि तौल समुहमा अनिता राई दोस्रो र सकुन श्रेष्ठ तेस्रो भइन् । पुरुष तर्फ ६५ केजी तौल समुह मुनि रोमन राई दोस्रो, रुपेश लोहनी तेस्रो भए । ६५ तौल समुह माथि मणि तामाङ दोस्रो र राकेश क्षेत्री तेस्रो भए । दोस्रो हुनेहरुले मेडल, प्रमाणपत्र, र ६ हजार रुपैया वरावरको सप्लिमेन्ट्रि डाइट,  तेस्रो हुनेले मेडल, प्रमाणपत्र र ३ हजार ५ सय रुपैया वरावरको सप्लिमेन्ट्रि डाइट प्राप्त गरेका छन् । 

IMG-20210314-WA0002.psd

विजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष कविर भगत प्रधानाङ्ग, प्रमुख अतिथि समाजसेवी अनिता प्रधानाङ्ग, एनएफविएफका केन्द्रिय उपाध्यक्ष रणवहादुर थेवे, लायन्स क्लव अफ जुम्वाका अध्यक्ष कृति श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा एनएफविएफका केन्द्रिय सदस्य विक्रम लिम्वु, नगर खेलकुद विकास समितिका सदस्य सुयोग पाखी्रन र चिफ ट्रेनिङ्ग पुल लायन्स धिरज गुरुङ्ग निर्णायकको भुमिकामा रहेका थिए । 

धरान फिटनेस क्लवका संचालक कविरभगत प्रधानाङ्गका बुवा समेत रहेका राजभगत प्रधानाङ्गको गत कार्तिक १० गते मृत्यु भएको थियो । उनकै सम्झना तथा सम्मानका लागि क्लवले इन्टर हाउस पावर लिफ्टिङ प्रतियोगिताको सुरुवात गरेको क्लवका सञ्चालक तथा प्रधानाङ्गका छोरा कविरभगतले बताए । प्रतियोगितामा क्लबका सदस्यहरुमध्ये १६ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएको थिए ।