धरान: २१ औं गोधुली टुबोर्ग रनिङ फुटबल कपमा धरानको वडा नं १४ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा वडा नं १८ लाई टाइब्रेकरमा हराउदै वडा नं १४ सेमीफाइनल प्रवेश गरेको हो । टाइब्रेकरमा वडा नं १४ ले ५–३ गोलअन्तरले वडा नं १८ लाई हराउदै अन्तिम चारको स्थान पक्का गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा र अतिरिक्त समयको खेल पनि २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो ट्राइबे्रकरबाट भएको थियो ।

टाइब्रेकरमा वडा नं १४ का खेलाडीहरु विवेक राई, सन्दिप राई, समिर तामाङ, सौगात गुरुङ र रञ्जित क्षेत्रीले गोल गरे भने वडा नं १८ का खेलाडी सुजन लिम्बु, संगम मगर र उज्वल राई मात्र गोल गर्न सफल भए । सुशिल यादवको प्रहार बाहिरिएको थियो । त्यसअघि, थप ३० मिनेटको खेलमा वडा नं १८ का सुशिल यादवले ९३ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, ९९ औं मिनेटमा वडा नं १४ का सरोज राईले गोल गर्दै खेल बराबरी बनाए ।

वडा नं १८ का आशिष चौधरीले १०७ मिनेटमा गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए पनि १२० औं मिनेटमा वडा १४ का सरोज राईले पुनः दोस्रो गोल गर्दै खेल बराबरी बनाएपछि टाइब्रेकरतर्फ धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच वडा नं १४ का अनिष पुरी घोषित भए । उनले नगद पुरस्कार २ हजार हात पारे । प्रतियोगितामा भोली बुधबार पहिलो सेमीफाइनल खेल गत बर्षको विजेता वडा नं १७ र उपविजेता वडा नं १६ बीच हुनेछ । यस्तै, बिहिबार वडा नं १४ र वडा नं १९ बीच सेमीफाइनल खेल हुनेछ ।